नगर प्रहरीमाथि आक्रमण गर्ने सुकुम्बासीहरू विरुद्ध जाहेरी, शक्ति सञ्चय गर्दै महानगरपालिका

काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाले सुकुम्बासी वस्ती हटाउने क्रममा हिजो भएको भिडन्तमा नगर प्रहरीहरूमाथि आक्रमण गर्ने व्यक्तिहरूको नामै किटान गरी नेपाल प्रहरीमा उजुरी दर्ता गराएको छ ।

नगर प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई तुरुन्त पक्राउ गरी कारवाही गर्ने बारे काठमाडौं महानगरपालिकाले प्रहरी परिसर टेकुसँग पत्राचार गरेको हो ।

मनपाको जाहेरीमा सुकुम्बासीहरूले नगर प्रहरी शर्मिला बोगटीलाई शरीर बन्धक राखी गम्भीर रूपमा घाइते बनाएको आरोप लगाइएको छ । बोगटीलाई ढुंगा र लाठी प्रहार गरी घाइते बनाउने सुकुम्बासीहरूको भिडियो फुटेज पनि सार्वजनिक भएको छ ।

हिजो काठमाडौंको थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउने क्रममा सुकुम्बासीहरूले ढुंगामुढा गर्दा ३६ जना नगर प्रहरी घाइते भएको महानगरपालिकाले बताएको । ती मध्ये तीन जनाको उपचार थापाथलीकै नर्भिक अस्पतालमा भइरहेको छ ।

सुकुम्बासीहरूले वस्ती हटाउन आएका सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्नुका साथै लाठी, चुलेसी, खुकुरी आदि जस्ता घरेलु हातहतियार बोकेर प्रतिकारमा उत्रेका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले पनि नगर प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूमाथि कानुनी कारवाही गर्न सार्वजनिक रुपमा माग गर्नुभएको छ । उहाँले ती आक्रमणकारीहरूलाई कारवाही गर्ने कुनै निकाय छ कि छैन भनेर सार्वजनिक रुपमा प्रश्न पनि उठाउनुभएको छ ।

हिजो सुकुम्बासी वस्ती हटाउन खटिएका नगर प्रहरीहरू निहत्था थिए । उनीहरूसँग सामान्य लाठी सिबाय अर्को कुनै हतियार थिएन । सुकुम्बासीहरू भने घरेलु हतियार सहित सडकमा उत्रेका थिए ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले नगर प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई कानुनी कारवाही गर्न आफूहरू प्रतिवद्ध रहेको बताउनुभएको छ ।
उहाँले हिजो वस्ती हटाउन सफल नभए पनि अब महागरपालिका थप ‘फोर्स’ लिएर पुनः वस्ती हटाउन जाने तयारीमा रहेको जानकारी दिनुभएको छ ।

‘मैत्री न्युज’ सँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘हिजो त फोर्सै पुगेन । अब थप फोर्स लिएर जाने हो । महानगरपालिका अब यसमा रोकिँदैन ।’

उहाँले थापाथलीपछि अन्य स्थानमा रहेका सुकुम्बासी वस्तीहरू पनि हटाउँदै जाने कार्यक्रम रहेको पनि बताउनुभयो ।

हिजो नगर प्रहरीसँग भिडन्त पश्चात सुकुम्बासीहरू रातभर घरबाहिर नै आगो बाली प्रतिकारको लागि तयारी अवस्थामा जाग्राम बसेका थिए ।