ललितपुरका श्री रातो मत्स्येन्द्रनाथको मूर्ति कीर्तिपुरकी प्रेमिकाको टोलमा स्थापना

ललितपुर, १६ मंसिर । कीर्तिपुरको गःछेँस्थित प्यंगःथां भन्ने स्थानमा श्री रातो मत्स्येन्द्रनाथ (बुंगद्यः) को मूर्ति स्थापना गरिएको छ । रातो मत्स्येन्द्रनाथ मूलतः ललितपुरका देवता हुन् । ललितपुरकै कलाकार रवि शाक्यले उक्त मूर्ति बनाउनुभएको हो ।

मूर्ति कीर्तिपुर पठाउनु अघि हिजो ललितपुरको महाबौद्धमा मूर्तिको विशेष पूजा गरिएको थियो । त्यसपछि कीर्तिपुरबाट आउनभएका भक्तजनहरूले गुर्जुको पल्टन र अन्य बाजागाजा सहित मूर्तिको शोभायात्रा गरी मूर्तिलाई कीर्तिपुरको गःछेँ पुर्याएका थिए ।

गःछेँको प्यंगःथां नामक स्थानमा रातो मत्स्येन्द्रनाथको लागि आसन राखिएको छ । सोही आसनमा मूर्ति विराजमान गराइएको हो ।

रातो मत्स्येन्द्रनाथ मूलतः ललितपुरका देवता हुन् । ललितपुरका देवताको मूर्ति कीर्तिपुरमा किन स्थापना गरियो ? यसको पछाडि भने एउटा रोचक कथा पाइन्छ ।

हरेक वर्ष ललितपुरमा श्री रातो मत्स्येन्द्रनाथको जात्रा चलाउने गरिन्छ । यस क्रममा अन्तिम पटक लगनखेलको थति टोलबाट जावलाखेलसम्म रथ तान्ने गरिन्छ । रथ जावलाखेल पुगेको चारौं दिनमा भोटो जात्रा गरिन्छ । भोटो जात्रा पछि मत्स्येन्द्रनाथलाई रथबाट निकालेर खटमा राखी बुंगमतीतर्फ सवारी चलाइन्छ ।

त्यस पश्चात मत्स्येन्द्रनाथ छ महिनासम्म बुंगमतीकै मन्दिरमा विराजमान हुन्छ । छ महिना पछि पुनः खटमा राखी ललितपुरको तःबहालस्थित अर्को मन्दिरमा विराजमान गराइन्छ । यो वर्ष अस्ति मंसिर १३ गतेका दिन मात्रै मत्स्येन्द्रनाथलाई बुंगमतीबाट ललितपुर ल्याइएको थियो ।

यसरी जात्राका बेला एक दिन थति टोलबाट रथ तान्नै लाग्दा पाञ्जु (पुजारी) हरूले थाहा पाए कि रथमा विराजमान श्री मत्स्येन्द्रनाथ त गायब हुनुहुन्छ । रथमा मत्स्येन्द्रनाथको मूर्ति मात्रै छ, हंश (ज्यान) भने छैन ।

मत्स्येन्द्रनाथको हंश कता हराएछ भनी खोज्दै जाँदा उहाँ कीर्तिपुरको गःछेँस्थित एक घरमा बसिरहेको अवस्थामा फेला परेछ । उक्त घरमा एउटी महिला पनि रहिछन् जो मत्स्येन्द्रनाथकी प्रेमिका थिइन् । वास्तवमा श्री मत्स्येन्द्रनाथ कीर्तिपुरस्थित आफ्नी प्रेमिकालाई भेट्न पो गःछेँ पुग्नुभएको रहेछ ।

पुजारीहरू आफै आई लिन आएपछि उहाँ फर्कनु परिहाल्यो । किनभने मत्स्येन्द्रनाथ कीर्तिपुर आएका कारण उता ललितपुरमा जात्रा रोकिएको थियो । फर्कन लाग्दा उहाँले हरेक वर्ष जात्राका बेला आफ्नी प्रेमिकालाई प्रेमको सम्झना स्वरुप फूल प्रसाद पठाउने बाचा गर्नुभयो ।

सो बाचा पूरा गर्न अहिले पनि हरेक वर्ष थति टोलबाट मत्स्येन्द्रनाथको रथ तान्नु अघि मत्स्येन्द्रनाथका पुजारीहरू कीर्तिपुरको गःछेँ पुगेर उहाँकी प्रेमिकालाई फूल प्रसाद चढाउने चलन रहँदै आएको छ ।

मत्स्येन्द्रनाथले पठाउनुभएको उक्त फूल प्रसाद गःछेँस्थित एक अविवाहित महिलाले ग्रहण गर्ने परम्परा यद्यपि चलिरहेको छ । अनौठो त के छ भने कीर्तिपुरको गःछेँ टोलमा अहिलेसम्म पनि उक्त फूल प्रसाद ग्रहण गर्ने कुनै न कुनै अविवाहित महिला उपलब्ध भइ नै रहेको छ । यो क्रम अहिलेसम्म टुटेको छैन ।

यही कथालाई जोडेर अहिले गःछेँ टोलमा मत्स्येन्द्रनाथको मूर्ति स्थापना गरिएको हो । साथै मत्स्येन्द्रनाथकी प्रेमिका भनिने उक्त महिलाको मूर्ति पनि सँगै स्थापना गरिएको छ ।

मूर्ति बनाउने कलाकार रवि शाक्यका अनुसार कीर्तिपुरको गःछेँमा रातो मत्स्येन्द्रनाथको एउटा पौभाः रहेछ । साथै एउटा तस्बिर पनि राखिएको रहेछ । सोही तस्बिरको आधारमा आफूले यो मूर्ति बनाएको शाक्यले बताउनुभयो । यी दुवै मूर्ति धातुका हुन् ।

मूर्ति बनाउन कलाकार शाक्यलाई पाँच महिना लागेको थियो । ललितपुरका आराध्यदेव श्री करुणामयको मूर्ति बनाउने अवसर आफूलाई प्राप्त भएकोमा शाक्य औधी खुशी हुनुहुन्छ । उक्त मूर्ति बनाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सहयोग गर्नुभएको थियो ।

(तस्बिरहरुः युगेन शाक्यको फेसबुकबाट)