माइतीघर मण्डलामा सुकुम्बासी प्रदर्शन

काठमाडौं, १९ मंसिर । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी वस्ती हटाउन गरेको प्रयासको विरुद्ध आज सुकुम्बासीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

थापाथली लगायत विभिन्न क्षेत्रका सुकुम्बासीहरूले गरेको उक्त प्रदर्शनको आयोजना संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले गरेको थियो ।
उनीहरूले सुकुम्बासी लगायत कुनै पनि ठाउँका सुकुम्बासीहरूलाई बिना विकल्प उठाउन पाइँदैन भन्ने माग गर्दै उक्त जुलुस प्रदर्शन गरेका हुन् ।

उनीहरूले सुकुम्बासीलाई त्रासमा नराख, भूमि आयोगलाई काम गर्न देऊ, न्याय देऊ आदि लगायतका नारा लेखिएको प्ले कार्ड पनि प्रदर्शन गरेका छन् ।

थापाथलीमा महानगरपालिकाले डोजर चलाउँदा भएको भिडन्तमा सहभागी भएकाहरूका विरुद्ध दायर गरिएको उजुरी फिर्ता लिन पनि उनीहरूले माग गरेका छन् । त्यतिबेला नगर प्रहरीमाथि आक्रमण गर्ने सुकुम्बासीहरूका विरुद्ध महानगरपालिका र घाइते नगर प्रहरीहरू पनि किटानी जाहेरी दिएका थिए ।

भूमि आयोग लगायत विभिन्न निकायबाट खुल्ला विरोध हुन थाले पछि अहिले सुकुम्बासी वस्ती हटाउने महानगरपालिकाको अभियान रोकिएको छ ।