झापाको कनकाई नगरपालिकाले वितरण गर्याे सुकुम्बासीलाई लालपुर्जा
झापा, २५ मंसिर । झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो । सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताउनुभयो ।
कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको जनाइएको छ । नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने कार्यक्रमअन्तर्गत नै नगरपालिकाले जग्गा धनीपुर्जा वितरण गरेको हो ।
नगरपालिकाले तयारी धनीपुर्जा वितरण गर्ने तयारी गरे पनि भूमि आयोग झापाले प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिलिपिमात्र उपलब्ध गराएको छ । छ दशकदेखि यहाँका नागरिकले धनीपुर्जा पाएका छैनन् ।
नगरपालिकाले गत भदौ २५ गते नै धनीपुर्जा वितरण गर्ने कार्यक्रम तय गरेको थियो । निर्वाचन आचारसंहिताका कारण शनिबारदेखि धनीपुर्जा वितरण थालिएको नगरपालिकाले जनाएको छ ।
कनकाइमा भूमिहीन दलितको सङ्ख्या तीन सय ३७, भूमिहीन सुकुम्बासी दुई हजार तीन सय २९ र अव्यवस्थित बासोबासीको सङ्ख्या चार हजार चार सय २५ रहेको छ । उनीहरूको लगत सङ्कलनलगायतका सबै काम सकिएको छ भने एक हजार पाँच सय ३१ बिघा जग्गाको आठ हजार सात सय ७८ कित्ता जग्गाको धनीपुर्जा वितरण गरिने छ ।