कृषि फार्मका लागि अनुदान दिलाइ भन्दै पाँच करोड ८० लाख ठगी
ठगी
काठमाडौँ, १३ कात्तिकः कृषि फार्म सञ्चालनका लागि सरकारी सहुलियत अनुदान उपलब्ध गराइदिने प्रलोभन देखाएर पाँच करोड ८० लाख रुपियाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भन्ने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका १४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग आफ्नो राम्रो चिनजान रहेको र त्यसकै आधारमा कृषि फार्मका लागि सहुलियत अनुदान सहजै उपलब्ध गराइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा पारेका थिए ।
सोही प्रलोभनमा पारेर उनीहरूले पीडितबाट रु पाँच करोड ८० लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
