जारजरकोट जीप दुर्घटना हुँदा एकै वडाकाे सात जना सहित ११ जनाकाे मृत्यु
जारजरकोट, २६ मंसिर । जारजरकोटको छेडागाडमा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा न ३ जेवाबाट लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको हाे ।
मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ नगरपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही नगरपालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् ।
त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नं ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
जीपमा सवार १२ जनामध्ये छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन् । चार जना मात्र क्षमता भएको उक्त बोलेरो जीपमा १२ जना सवार रहेका थिए । घाइते जैभानको उपचारका लागि नेपालगञ्ज पठाइएको उपप्रमुख चन्द्रबहादुर थापालले जानकारी दिनुभयो ।