एशियन हाइड्रोपावरको आइपिओ खुला, वैदेशिक रोजगारिमा रहेकाले पनि भर्न मिल्ने

काठमाडाैं, २७ मंसिर । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अंकित दरमा चार लाख २४ हजार कित्ता आइपिओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजी रु ३४ करोडको १० प्रतिशतले हुन आउने रु तीन करोड ४० लाख बराबरको कूल तीन लाख ४० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएको छ ।

त्यस्तै सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ४० प्रतिशत अर्थात एक लाख ३६ हजार कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका ३ र ४ तथा सूर्याेदय नगरपालिका –११ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

त्यस्तै आयोजना अति प्रभावित क्षेत्र बाहेक इलामको अन्य क्षेत्रमा बसोबास गर्नेका लागि बाँकी ६० प्रतिशतले हुने दुई लाख चार हजार कित्ता शेयर निष्कासन गरिने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

निष्कासन गरिने शेयरमा आयोजना प्रभावित स्थानीयले छिटोमा आगामी पुस १२ सम्म र ढिलोमा पुस २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस १२ गतेसम्म अधिकतम २० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत् तथा ‘मेरो शेयर’मार्फत् शेयर खरिदको आवेदन दिन सक्नेछन् ।