विश्व च्याम्पियन सपना जिवित राख्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

काठमाडौं, २८ मंसिर । चार करोड ५६ लाख बढी जनसंख्या भएको अर्जेन्टिना कतारमा जारी फिफा विश्वकपको फाइनलमा पुगेको छ । दोहाको लुसेल रंगशालाको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर अर्जेन्टिना छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको हो ।

सन् २०१८ को विश्वकप समूह चरणमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलले पराजित गरेको थियो । त्यो बदला आज एशियाली भूमि कतारबाट अर्जेन्टिनाले लिएको छ । अब दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् र त्यो खेलबाट विजयी टिमसँग अर्जेन्टिनाको यो पटकको अन्तिम प्रतिस्पर्धा हुनेछ । आज भएको खेलको ३४ औं मिनेटमा क्रोएसियाली गोलरक्षक डोमिनिक लिभाकोभिचले अर्जेन्टिनी टिमका कान्छा स्ट्राइकर अल्भारेजलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पायो । लियोनल मेस्सीले त्यसलाई सुन्दर गोलमा परिणत गरेपछि अर्जेन्टिनाले अग्रता बनायो ।

त्यसको पाँच मिनेटपछि फेरि लियोनेल मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका अल्भारेजले क्रोएसियाका तीन खेलाडीलाई छक्याउँदै सुन्दर गोल गरेपछि अर्जेन्टिनाले गोल दोब्बर बनायो । ६९ औं मिनेटमा मेस्सीको शानदार असिस्टमा अल्भारेजले अर्जेन्टिनालाई ३–० गोलले अगाडि बढाएका थिए।

१९८६ यता विश्वकप उपाधि उचाल्न नसकेको अर्जेन्टिना फाइनल पुगेसँगै सातपटकका फिफा वर्ष खेलाडी मेस्सीको विश्व च्याम्पियन बन्ने सपना कायमै रहेको छ। सन् १९३० मा आयोजित पहिलो विश्वकपमा फाइनल पुगेको अर्जेन्टिना त्यसपछि सन् १९७८, १९९० र २०१४ मा पनि फाइनल पुगेको थियो। सन् १९३०, १९९० र २०१४ मा उपविजेतामा सिमित भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *