ढोरपाटन सिकार आरक्षमा पहिलोपटक खुलेकाे बँदेल सिकारमा गएनन् नेपाली

बागलुङ, २८ मंसिर । ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्ष्य गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन ।

यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार कोटा तोकेको थियो । तीन नेपाली सिकारीले बोलपत्रको प्रक्रियामा भाग लिए पनि सिकार खेल्न नआएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।

“पहिलोपटक भएकाले प्रक्रियागत हिसाबले पनि समय लागेको हुनसक्छ, बँदेल सिकारको सूचना र प्रचारप्रसार पनि ढिलो हुन पुग्यो”, उहाँले भन्नुभयो, “अर्को यामदेखि बँदेल सिकारमा नेपालीलाई आकर्षित गर्न बेलैमा तयारी र पहल गर्नुपर्ने देखिन्छ ।”

बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका सिकार कम्पनीले आरक्षमा सिकार खेलाउन पाउँछन् । बर्सेनि दुई याममा नाउर र झारलको सिकार खुला गरिँदै आएकामा यस वर्षदेखि बँदेलको पनि सिकार गराउने योजनामा विभाग छ ।

नाउर र झारलको महँगो सिकार नेपालीको पहुँचमा नरहेकाले बँदेल सिकारमार्फत आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । बँदेलको व्यवस्थित सिकारले स्थानीय बासिन्दा र आरक्षबीचको सम्बन्ध पनि सुदृढ हुने उहाँको भनाइ छ । वैधानिकरुपमा सिकार गराउँदा राज्यले राजश्व पनि आर्जन गर्छ ।

विभागले वर्षमा २२ बँदेलको सिकार गराउने गरी कोटा निर्धारण गरेको छ । पहिलो याममा एउटा पनि सिकार नभएकाले अर्को याममा कोटा थपघट हुन सक्ने कँडेल बताउनुहुन्छ । आरक्षमा अहिलेसम्म कोही पनि नेपाली वैधानिकरुपमा सिकारका लागि नपुगेको स्थितिमा विभागले पहिलोपटक नेपालीलाई लक्ष्य गरी बँदेलको सिकार खुला गरेको थियो ।

विभागले बँदेलसँगै नाउर र झारलका लागि गत भदौमा बोलपत्र खुलाएको थियो । जसमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ । आरक्षका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानाडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए ।

कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार हुन नसकेको आरक्ष कार्यालयले जनाएको छ । नाउर र झारल सिकारका लागि विदेशी पेसेवर सिकारी लाखौँ रुपैयाँ खर्चेर ढोरपाटन पुग्छन् । प्रमुख संरक्षण अधिकृत कँडेलले अर्को वर्षदेखि विस्तृत अध्ययन र बँदेलको गणना गरेर मात्र सिकार कोटा तोकिने बताउनुभयो ।

बँदेलको सिकार खुलाउन कम्पनीले माग गर्दै आए पनि यो पटक सिकार हुन नसकेको उहाँको भनाइ छ । सिकारको अनुभव बटुल्नका लागि पनि नेपाली बँदेल सिकारमा आकर्षित हुनसक्ने थापाले बताउनुभयो ।

आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर, ट्रयाक एण्ड ट्रेल्र्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन् । बर्सेनि (असोज–मङ्सिर) र (फागुन–वैशाख) गरी दुई याममा सिकार खुला हुन्छ । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक छन् ।