बृद्धालाई फकाएर सुनका गहना चोरी, एक जना पक्राउ

कास्की, १ पुस । कास्कीमा बृद्धा महिलालाई ललाई फकाई २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका-६ घर भई कास्की पोखरा महानगरपालिका-४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।

‌पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी बृद्धा महिलालाई ललाई फकाई गरी भुलाई बृद्धाहरूले घाँटी तथा कानमा लगाएका र घर कोठामा राखेका विभिन्न गहना र नगद रुपैयाँहरू चोरी गरेको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न श्रेष्ठलाई चोरी भएका धनमाल मध्ये तिलहरि १ थान, औंठी १ थान, फूली १ थान, सिक्री, वाला, औँठी, मोबाइलको साथै चोरी गर्दा लगाएको कपडा सहित पक्राउ गरेको हो ।

प्रहरीले थप टीका श्रेष्ठमाथि थप आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।