कीर्तिपुरमा रातो मत्स्येन्द्रनाथ स्थापना गरिएकोमा बुंगमतीका पानेजुहरूको आपत्ति

ललितपुर, ५ पुस । कीर्तिपुरको गःछेँस्थित प्यंगःथां नामक स्थानमा हालै मात्र श्री करुणामय रातो मत्स्येन्द्रनाथ (बुंगद्यः) र उहाँकी प्रेमिका भनिएकी याकः मिसाको मूर्ति स्थापना गरिएकोमा रातो मत्स्येन्द्रनाथका पुजारीहरूको संगठन ‘श्री ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघ’ ले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष यज्ञरत्न शाक्यले हालै एक विज्ञप्ति जारी गर्दै कीर्तिपुरमा रातो मत्स्येन्द्रनाथको मूर्ति स्थापना गर्नु जीवित सम्पदामाथि गरिएको प्रहार भएको बताउनुभएको छ ।
साथै विज्ञप्तिमा कीर्तिपुरको सो स्थानमा याकः मिसाको मूर्ति र रातो मत्स्येन्द्रनाथको प्रतिमूर्ति रहुन्जेल मत्स्येन्द्रनाथको जात्राका क्रममा हरेक वर्ष उक्त स्थानमा गई प्रसाद ग्रहण गर्ने गराउने कार्य बन्द गरिने पनि बताइएको छ ।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथयात्राका क्रममा लगनखेलबाट जावलाखेलमा रथ तान्नु अघि पानेजुहरुको एउटा टोली पैदलै हिँडेर कीर्तिपुर पुगी स्थानीय प्यंगःथांकी एक अविवाहित महिलालाई मत्स्येन्द्रनाथको फूल प्रसाद चढाउने परम्परा रहँदै आएको छ ।

हाल मत्स्येन्द्रनाथको उक्त फूल प्रसाद कीर्तिपुरकी स्थानीय ७२ वर्षीय लक्ष्मीकुमारी महर्जन नामक अविवाहित महिलाले ग्रहण गर्दै आइरहेको छ ।

यो फूल प्रसाद कीर्तिपुरकी जीवित महिलालाई नै अर्पण गर्ने भएकोले त्यहाँ उनको मूर्ति बनाउन नमिल्ने दावी पानेजुहरूको रहेको छ । यसले गर्दा जीवित सम्पदा नष्ट हुने दावी उहाँहरुले गर्नुभएको छ ।

त्यस्तै विज्ञप्तिमा उक्त महिला शक्ति स्वरुपा कन्या कुमारी भएको दावी गर्दै उनलाई मत्स्येन्द्रनाथकी प्रेमिका एवं मत्स्येन्द्रनाथलाई उनका प्रेमी भनी भ्रामक प्रचार गरिएकोले त्यस्तो प्रचार कार्य तत्काल बन्द गरिनुपर्ने माग पनि गरिएको छ ।

किंवदन्ती अनुसार मत्स्येन्द्रनाथ आफू उपस्थित हुन नसकेका कारण पानेजु मार्फत कीर्तिपुरकी कन्यालाई फूल प्रसाद चढाउन पठाइएको हो । अब सो ठाउँमा मत्स्येन्द्रनाथको प्रतिमूर्ति नै स्थापना गरिसकेपछि त्यहाँ मत्स्येन्द्रनाथको प्रसाद चढाउन लगिरहनै नपर्ने दावी पनि पानेजुहरूको रहेको छ ।

ललितपुरका कलाकार रवि शाक्यले निर्माण गर्नुभएको उक्त मूर्तिहरु गत मंसिर १५ गते ललितपुरको महाबौद्धबाट शोभायात्रा गरी कीर्तिपुर पुर्याइएको थियो । कीर्तिपुरमा उक्त दुवै मूर्तिलाई भव्यपूर्वक लसकुस गरी भित्र्याइएको थियो । हाल दुवै मूर्तिलाई कीर्तिपुरको प्यंगःथांस्थित नवनिर्मित भवनमा स्थापना गरिएको छ ।

उक्त मूर्तिहरु बनाउन काठमाडौं महानगरपालिकाले रु. १७ लाख ७५ हजार सहयोग गरेको थियो ।

कीर्तिपुरमा हर्षोल्लासपूर्वक मूर्ति स्थापना गरिसकेपछि बुंगमतीका पानेजुहरूबाट आपत्ति जनाएकाले कीर्तिपुरवासीहरू भने रणभुल्लमा परेका छन् ।

पानेजुहरुले यो विवाद सम्बन्धी उजुरी गुठी संस्थानमा पनि दर्ता गरिसकेको छ । गुठी संस्थानले अब दुवै पक्षलाई बोलाएर यसबारे छलफल गर्न लागेको थाहा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *