सर्वसम्मत प्रचण्डलाई संसदीय दलको नेता बनाउँदै माओवादी केन्द्र

काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्ने भएको छ ।

आज बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो ।

त्यस्तै माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिनुभयो ।

दलको उपनेतामा भने उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले दाबी गर्नु भएको छ ।

बैठकले सङ्घीय सांसदबाट मासिक रु १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ । केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।