बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै : पर्यटन व्यवसाय लयमा फर्किँदै
बाढी प्रभावित रसुवाको गोसाइँकुण्ड
काठमाडौँ, कार्तिक २७ । गत भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेको रसुवाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्डमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । सडक तथा पदमार्गमा भएको क्षति मर्मत हुँदै आवागमन सहज बन्न थालेपछि सुस्ताएको पर्यटन व्यवसायसमेत क्रमशः लयमा फर्किन थालेको हो ।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बाढीका कारण केही समय प्रभावित बनेको पर्यटन क्षेत्र पुनः चलायमान हुन थालेको बताउनुभयो । पर्यटकको आगमन बढेसँगै होटल व्यवसायी, पथप्रदर्शक, यातायात मजदुर तथा साना व्यवसायीलाई राहत पुग्न थालेको उहाँको भनाइ छ ।
बाढीपछि पर्यटकीय गतिविधि ठप्पजस्तै बनेको उल्लेख गर्दै अध्यक्ष तामाङले सडक तथा पदमार्गको अवस्था सुधार हुँदै गएपछि आन्तरिक र बाह्य पर्यटक आउन थालेको बताउनुभयो । गाउँपालिकाले पदमार्गको मर्मतसम्भार तथा पर्यटकको सुरक्षा र सहजताका लागि आवश्यक समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।
लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बाढीपछि अवरुद्ध भएको आवागमन सहज भएसँगै गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन नियमित हुन थालेको बताउनुभयो । निकुञ्जले यस क्षेत्रको प्राकृतिक वातावरण र जैविक विविधता संरक्षणका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार सडक तथा पदमार्गको अवस्था सुधार हुन थालेपछि गोसाइँकुण्ड पुग्ने तीर्थयात्री र पदयात्रीको सङ्ख्या बढ्दै गएको छ । बाढीले बाटोघाटोमा क्षति पुर्याउँदा केही समय पर्यटकीय गतिविधि प्रभावित भए पनि अहिले अवस्था सहज बन्दै गएको उहाँले बताउनुभयो ।
स्थानीय होटल व्यवसायी सन्तोष घलेले पछिल्लो समय गोसाइँकुण्ड पुग्ने आन्तरिक पर्यटक र युवापुस्ताको आकर्षण बढेको बताउनुभयो । विगतमा जनैपूर्णिमा र गङ्गादशहराका अवसरमा मात्रै तीर्थयात्रीको बढी चहलपहल हुने गरेकामा पछिल्लो समय वर्षभरि नै पदयात्रा र घुमफिरका लागि पर्यटक आउन थालेको उहाँको भनाइ छ ।
पदयात्रा मार्गको दिगो स्तरोन्नति, सञ्चार सुविधा तथा आधारभूत पूर्वाधारको विकास गर्न सके गोसाइँकुण्डको पर्यटनले स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउने व्यवसायी घलेले बताउनुभयो ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित गोसाइँकुण्ड समुद्री सतहबाट चार हजार ३८० मिटर उचाइमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ मा पर्दछ । करिब १३ दशमलव ८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डको लम्बाइ ६२५ दशमलव ५५ मिटर, चौडाइ ३०२ मिटर र गहिराइ २६ मिटर छ । कुण्डमा करिब १४ लाख ७२ हजार घनमिटर पानी रहेको बताइन्छ ।
हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र गोसाइँकुण्ड धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । हिन्दू धार्मिक मान्यताअनुसार समुद्र मन्थनबाट निस्किएको कालकूट विष सेवन गरेपछि त्यसको डाहा शान्त पार्न भगवान् शिवले त्रिशूल प्रहार गरी पहरा खोपेर पानी निकालेको र त्यही पानीबाट कुण्ड बनेको जनविश्वास छ ।
गोसाइँकुण्ड आसपासमा भैरवकुण्ड, सरस्वतीकुण्ड, सूर्यकुण्ड, चन्द्रकुण्ड, दूधकुण्ड र गणेशकुण्डलगायतका अन्य कुण्ड पनि छन् । यस क्षेत्रको ऐतिहासिक अमरसिंह गुफा र स्थानीय तामाङ समुदायको मौलिक संस्कृति पनि पर्यटकका लागि थप आकर्षणका विषय हुन् ।
पारिस्थितिकीय महत्त्वका कारण गोसाइँकुण्ड क्षेत्रलाई विसं २०६४ असोज ५ गते रामसार सूचीमा सूचीकृत गरिएको हो । यहाँ हिमचितुवा, रातो हाब्रे, कस्तुरी मृग र हिमाली थारलगायत दुर्लभ वन्यजन्तु तथा लालीगुराँस, सुनाखरीसहित विभिन्न हिमाली वनस्पति पाइन्छन् ।
नेपालका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमा पर्ने गोसाइँकुण्डले हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गलाई समेत जोडेको छ । यहाँ जेठ–असारमा गङ्गादशहरा र साउन-भदौमा जनैपूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । बालाचतुर्दशीमा पनि विशेष धार्मिक अनुष्ठान हुने गरेको रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो ।
