कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ

कञ्चनपुर, १६ पुस । कञ्चनपुरको बेलौरीमा हतियारसहित तीन भारतीय लुटेरा पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियारसहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो ।
पक्राउ परेकाहरुबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ ।
“शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्”, उहाँले भन्नुभयो, “ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ ।”
पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका छन् ।