चितवनकाे भरतपुरमा वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङ्क सङ्कलन सुरु

चितवन,२० पुस । चितवनकाे भरतपुर महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाको तथ्याङक सङ्कलन सुरुआत गरेको छ । उनीहरुले आर्जन ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्र रोजगारी उपलब्ध गराउन महानगरपालिकाले तथ्याङ्क सङ्कलन थालनी गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डले स्थानीय तहको सहकार्यमा कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाका २९ वटै वडामा तथ्याङ्क सङ्कलन भइरहेको महानगरपालिकाका उपसचिव गणेश नेपालीले जानकारी दिनुभयो । वैदेशिक रोजगार बोर्डको सचिवालयबाट स्वीकृत पुनः एकीकरण कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०७९ बमोजिम कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ छ ।

कार्यक्रम स्थानीय तहको माग, आवश्यकताबमोजिम स्थानीय तहमार्फत सञ्चालन हुनेछ । स्वदेशभित्रै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारी माथिको परनिर्भरतालाई क्रमशः कम गर्दै लैजाने उद्देश्यअनुरूप कार्यक्रम सञ्चालन हुन लागेको नेपालीले बताउनुभयो ।