‘सम्यक् महादान मूल समारोह समिति’को सचिवालय राष्ट्रिय सभा गृहमा
सचिवालय स्थापना
सम्यक् महादानका लागि आवश्यक प्रशासनिक प्रक्रिया तथा तयारी अघि बढाउने, कार्यान्वयन समिति र क्षेत्रगत उपसमितिका कामलाई सहजीकरण गर्ने तथा सरोकारवाला र साझेदार निकायसँग समन्वय गर्ने उद्देश्यले सचिवालय स्थापना गरिएको महानगरपालिकाले जनाएको छ ।
नेपाल मण्डलमा सम्यक् महादान ऐच्छिक र गुठी गरी दुई प्रकारले आयोजना गर्ने परम्परा रहेको नेपाल बज्रयान महाविहार लुम्बिनीका चक्रेश्वर तथा मूल समारोह समितिका संयोजक प्रा. डा. नरेशमान बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार काठमाडौँमा गुठी सम्यक् विभिन्न तीन खलकले चार–चार वर्षमा आयोजना गर्ने गरेकोमा पछि तीनवटै समूह मिलेर १२ वर्षमा एकपटक आयोजना गर्ने परम्परा बसेको थियो ।
“गुठी सम्यक् नभएको २२ वर्ष र ऐच्छिक सम्यक् नभएको २५ वर्ष भइसकेको छ,” उहाँले भन्नुभयो, “लामो समयदेखि यी दुवै प्रकारका सम्यक् हुन नसकेकाले महानगरपालिकाले अमूर्त सम्पदा संरक्षणअन्तर्गत यस वर्ष सम्यक् महादान आयोजना गर्न लागेको हो ।”
महादानको सञ्चालन, व्यवस्थापन तथा नीतिगत कामका लागि असोज ८ गते काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख संयोजकत्वमा ३०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको थियो । समितिको सहसंयोजकमा महानगरपालिकाका प्रवक्ता नविन मानन्धर, महादान हुने वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, महाविहार संघ काठमाडौँका अध्यक्ष शुभकाजी शाक्य र उराय् समाज काठमाडौँका सदस्य डा. सुमनकमल तुलाधर रहनुभएको छ । मूलश्री महाविहार काठमाडौँका समज्वल बज्राचार्य सदस्य सचिव हुनुहुन्छ ।
त्यसैगरी कार्यवाहक प्रमुख डंगोलकै अध्यक्षतामा ३७ सदस्यीय कार्यान्वयन समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा प्रा. डा. नरेशमान बज्राचार्य रहनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर तथा विभिन्न विषयगत समितिका संयोजकहरू सदस्य रहनुभएको समितिमा सुरक्षा निकाय, महानगरपालिकाका सम्बन्धित विभाग तथा महाविहार र बौद्ध समुदायका प्रतिनिधिको सहभागिता छ ।
महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख सदस्य सचिव रहने कार्यान्वयन समितिमा समितिका प्रमुखले थप नौ जना सदस्य मनोनयन गर्ने व्यवस्था गरिएको छ ।
महादानको तयारी र व्यवस्थापनका लागि कार्यान्वयन समितिअन्तर्गत १३ वटा विषयगत उपसमिति गठन गरिएको छ । मञ्जुश्री रत्न बज्राचार्यको संयोजकत्वमा पूजा, दान तथा दाता उपसमिति, संघरत्न शाक्यको संयोजकत्वमा देवता निमन्त्रण उपसमिति तथा डा. सुरेन्द्रमान बज्राचार्यको संयोजकत्वमा अभिलेखीकरण तथा प्रकाशन उपसमिति गठन गरिएको छ ।
यस्तै सम्यक् भोजन व्यवस्थापन, स्थान व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात तथा ढुवानी, सांस्कृतिक, स्वास्थ्य, प्रचारप्रसार, आर्थिक, सुरक्षा तथा खाजा–खाना व्यवस्थापनलगायतका उपसमिति गठन गरिएका छन् । ती उपसमितिका संयोजक भने तोक्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ ।
परम्पराअनुसार दुई दिन आयोजना हुने सम्यक् महादानको पहिलो दिन हनुमानढोकामा र दोस्रो दिन स्वयम्भूको भुइँखेलमा कार्यक्रम हुने जनाइएको छ । काठमाडौँमा यसअघि विसं २०६१ पछि सम्यक् महादान आयोजना हुन सकेको छैन ।
बौद्ध परम्परामा दानलाई धार्मिक क्रियाकलापको महत्वपूर्ण अङ्गका रूपमा लिइन्छ । नेपालमा नियमित वार्षिक पञ्जरां (पञ्चदान), ऐच्छिक पञ्जरा, नराँ पञ्जरां दान तथा निश्चित अन्तरालमा आयोजना हुने महा सम्यक् दानलगायतका दान परम्परा प्रचलनमा रहेका छन् ।
तीमध्ये सम्यक् महादानलाई महत्वपूर्ण, कठिन र दुर्लभ दान परम्पराका रूपमा लिइन्छ । महादानको मुख्य दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट दीपङ्कर बुद्धलगायत देवदेवीलाई निमन्त्रणा गरी विराजमान गराउने, पूजापाठ तथा दान–दक्षिणा अर्पण गर्ने र नेपाल मण्डलका बज्राचार्य, बुद्धाचार्य, शाक्यभिक्षु तथा चैलक भिक्षुलाई दान अर्पण गर्ने परम्परा रहेको छ ।
यस ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै पुस्तान्तरण गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा सम्यक् महादान आयोजना गर्ने कार्यक्रम समावेश गरेको हो । महानगरपालिकाका अनुसार यसबाट काठमाडौँ तथा उपत्यकाका बौद्धमार्गी नेवार समुदायलाई सामूहिक कल्याणकारी कार्यमा सहभागी गराउनुका साथै मानवजाति तथा समग्र प्राणी जगत्को कल्याणको कामना गर्ने परम्परालाई संरक्षण र संस्थागत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ट्रेन्डिङ
सबै
१
३
४
सम्बन्धित खबर
पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको घटनाप्रति सर्वोच्चको गम्भीर ध्यानाकर्षण
प्रतिनिधिसभामा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
