काठमाडौँ महानगरपालिकाले चार सय छात्रालाई आत्मरक्षा तालिम दिने
आत्मरक्षा सम्बन्धी तालिम
काठमाडौँ, असोज १२ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका चार सय छात्रालाई आत्मरक्षा सम्बन्धी तालिम दिने भएको छ । महानगरपालिकाको शिक्षा विभागले पहिलो चरणमा कक्षा ९ मा अध्ययनरत छात्रालाई लक्षित गरी दुईदिने तालिम सञ्चालन गर्न लागेको हो ।
तालिमको उद्देश्य छात्रालाई हिंसाको पहिचान गर्न सक्षम बनाउनुका साथै हिंसाको जोखिममा परेका बेला प्रतिरोध गरी आफूलाई सुरक्षित राख्न सक्ने व्यावहारिक सीप प्रदान गर्नु रहेको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका अनुसार पहिलो चरणमा १० वटा सामुदायिक विद्यालयका ४०–४० जना छात्रालाई तालिममा सहभागी गराइनेछ । शिवपुरी, जनकल्याण, रत्नराज्य, विश्व निकेतन, ज्ञानोदय, जनपथ, जनजागृति ज्ञान रश्मि, तरुण, कन्या र पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयमा तालिम सञ्चालन हुनेछ ।
शिक्षा विभागअन्तर्गत परीक्षा तथा कार्यक्रम महाशाखा प्रमुख सुशील सुवेदीका अनुसार तालिमबाट छात्राले हिंसाको स्वरूप तथा जोखिम पहिचान गर्न र सम्भावित घटनाबाट आफूलाई जोगाउन आवश्यक सीप हासिल गर्नेछन् ।
नेपाल सेल्फ डिफेन्स मार्सल आर्ट एशोसिएसनका प्रमुख प्रशिक्षक सञ्जु महर्जनले तालिममा हिंसा के हो भन्ने विषयको आधारभूत जानकारीसँगै गलत नियतले छोएको वा हेरेको पहिचान गर्न सिकाइने बताउनुभयो ।
उहाँका अनुसार सम्भावित आक्रमणबाट आफ्नै हातखुट्टाको प्रयोग गरी कसरी बच्ने भन्ने व्यावहारिक सीपसमेत तालिममा सिकाइनेछ । तालिममा सैद्धान्तिकभन्दा प्रयोगात्मक अभ्यासलाई बढी प्राथमिकता दिइने उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकाले पहिलो चरणको तालिमको प्रभावकारिता मूल्याङ्कन गरी क्रमशः अन्य विद्यालयका विद्यार्थीलाई समेत आत्मरक्षा तालिम प्रदान गर्ने योजना बनाएको छ । महाशाखा प्रमुख सुवेदीले तालिमको परिणामका आधारमा कार्यक्रमलाई विस्तार गर्दै लैजाने बताउनुभयो ।
