बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत दिन सांसदको माग
काठमाडौं, १२ असाेज । लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढीपहिरोबाट जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि सांसदहरूले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले चार दिनसम्म परेको अविरल वर्षाले सडक, पुल तथा भवनमा क्षति पुर्याउनुका साथै विभिन्न जिल्लामा जनजीवन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पामा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनुका साथै मानवीय र भौतिक क्षति भएको बताइन् । उनले बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति दुःख व्यक्त गरिन् ।
सडक, पुल तथा भवनमा भएको क्षतिको तत्काल व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्दै उनले उद्धारमा खटिएका सुरक्षाकर्मी तथा अन्य निकायप्रति आभार व्यक्त गरिन् ।
नेकपा (एमाले)की सांसद सम्झना देवकोटाले अविरल वर्षाका कारण गण्डकी प्रदेशको मनाङमा आएको बाढीपहिरो तथा मुख्य राजमार्गमा पुगेको क्षति तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन माग गरिन् ।
नजिकिँदो चाडपर्वका बेला सडक अवरुद्ध हुँदा आवतजावतसँगै दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने भन्दै उनले बजारमा महँगी बढ्न नदिन आवश्यक सहयोग समयमै जुटाउन सरकारसँग आग्रह गरिन् ।
जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरीले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन माग गरिन् । विपद्का कारण महामारीको जोखिमसमेत बढ्न सक्ने भन्दै उनले स्वास्थ्य सुरक्षातर्फ पनि सरकारको ध्यान जानुपर्ने बताइन् ।
रसुवाका बाढी प्रभावितलाई समयमै राहत उपलब्ध गराउन तथा पुनःस्थापनाको काम अघि बढाउन माग गर्दै चौधरीले विपद्को मौका छोपेर हुन सक्ने महँगी र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत सरकारसँग आग्रह गरिन् ।
