पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

२१ जनाको मृत्यु, चार जना बेपत्ता, २६ जना घाइते

काठमाडौँ, १२ असोजः पछिल्लो २४ घण्टामा देशभर दुई सय ७२ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी २१ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता र २६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्मको अवधिमा ती विपद्का घटना भएका हुन् ।

प्राधिकरणका अनुसार उक्त अवधिमा सबैभन्दा बढी पहिरोका ९७ वटा घटना भएका छन् । पहिरोमा परी १९ जनाको मृत्यु, चार जना बेपत्ता र चार जना घाइते भएका छन् ।

यसैगरी अविरल वर्षाका ८०, बाढीका ५७, सर्पदंशका १७, आगलागीका आठ, हावाहुरीका आठ, जनावर आक्रमणका चार तथा हिमपातको एउटा घटना भएको प्राधिकरणले जनाएको छ ।

बाढीका घटनामा मानवीय क्षति नभए पनि ४१५ जनाको उद्धार गरिएको छ । यस्तै, अविरल वर्षाका कारण जोखिममा परेका सात सय जनाको उद्धार गरिएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

विपद्का कारण देशभर ४८ सडकखण्ड अवरुद्ध भएका छन् भने १२१ चौपायाको क्षति भएको छ । विपद्जन्य घटनाबाट रु एक करोड ९१ लाख ६६ हजार बराबरको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।

पछिल्लो २४ घण्टामा भएका विपद्का घटनामध्ये पहिरो, बाढी र अविरल वर्षाका घटना प्रमुख रहेका छन् । प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायबाट उद्धार, खोजी तथा आवश्यक व्यवस्थापनका कार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *