फिल्म ‘छड्के २’ मा भिटेनको र्याप

काठमाडौं,२८ पुस । युवापुस्तामाझ चर्चित रहेका र्यापर भिटेनले फिल्मका लागि र्याप तयार पारेका छन् । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको  र्याप गीत रेकर्ड गराएका हुन् ।

बुधबार काठमाडौंस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्मसँग जोडिएको संक्षिप्त प्रतिक्रिया उनले दिए । “फिल्मको पात्रसँग सुहाउने भएकाले जोडिएको हुँ” ।

फिल्मका निर्माता प्रशान्त गिरीले र्याप आवश्यक परेकाले समावेश गरिएको जानकारी दिए । “ग्याङस्टार जनरामा निर्माण भएको फिल्ममा अभिनेता केसीलाई अन्यभन्दा फरक भुमिकामा पाउनु हुनेछ, हामी गीत–सङ्गीतमा समेत फरकपन दिन चाहन्छौँ”, निर्माता गिरीले भने ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल,सिर्जना सुब्बा,रेशा आलेमगरको समेत अभिनय रहेको छ । चितवन र मुस्ताङमा छायाङ्कन गरिएको यो फिल्म ‘छड्के’ को सिक्वेल भएता पनि कथावस्तु नयाँ रहेको निर्देशक श्रेष्ठले बताए ।

“नामको मात्र सिक्वेल हो, विषयवस्तु फरक छ”,निर्देशक श्रेष्ठले भने । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।