काष्ठमण्डपकाे राेचक परम्परा

घ्यः चाकु सँल्हु अर्थात् माघे संक्रान्तिका दिन काठमाडौंकाे काष्ठमण्डप हेरिन्छ नुन र तेलको भाउ

काठमाडाैं, १ माघ । माघ महिनाको पहिलो दिन संक्रान्तिमा नेवा: समुदायले घ्यः चाकु सँल्हु अर्थात् घ्यू र चाकु खाने संक्रान्तिको रुपमा मनाउँदै आएका छन् ।

विक्रम संवत् अनुसार सूर्य एक राशिबाट अर्को राशीमा प्रवेश गर्ने दिनलाई संक्रान्ति भनिन्छ र यसै दिन महिना पनि फेरिन्छ ।

यसैदिन काठमाडौंकाे काष्ठमण्डपमा नुन र तेलको भाउ हेर्ने परम्परा रहेकाे छ । यस दिन नुन र तेलको भाउ बराबर भयो कि भएन भनी हेर्ने चलन रहेको पाइन्छ ।

याे चलन कहिलेदेखि चलिआएकाे हाे भन्ने एकिन प्रमाण नभएपनि किंवदन्ती भने रहेकाे पाइन्छ ।

किंवदन्ती अनुसार काष्ठमण्डप निर्माण सम्पन्न भएपछी तान्त्रिक बन्धनमा रहेका कल्पवृक्ष देवताले आफूलाई मुक्त गरिदिन आग्रह गर्दा, जुन दिन नुन र तेलको भाउ बराबर हुन्छ, त्यो दिन यस सत्तलको प्राण-प्रतिष्ठान पनि गरौंला र तपाईंलाई पनि मुक्त गरिदिउँला भनी वचन गरेको मानिन्छ ।

सोही अनुसार हालसम्म पनि माघे संक्रान्तिको दिन नुन र तेलको भाउ हेर्ने चलन छ ।

यस दिन काष्ठमण्डपमा पुजा गरि गजुरमा ध्वजा फहराउने र गाईलाई अन्न खुवाउने चलन पनि रहेको पाइन्छ ।