माया खोला हाइड्रोपावरले माघ १३मा आईपीओ निष्काशन गर्दै

काठमाडाैं, ४ माघ । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो।

सोमध्ये सर्वसाधारणले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ । आईपीओमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।