दीर्घरोगीलाई काठेखोला गाउँपालिकाले मासिक पाँच हजार दिने

बागलुङ, ९ माघ । बागलुङकाे काठेखोला गाउँपालिकाले यस वर्षदेखि पालिकाभित्रका दीर्घरोगी नागरिकलाई प्रतिमहिना भत्ता दिने व्यवस्था मिलाएको छ । गाउँपालिको १२औँ गाउँ सभाबाट दीर्घरोगीलाई जीवन निर्वाह खर्च दिने निर्णय गरेको हो ।

गाउँपालिकाभित्रका दीर्घरोगीको लगत सङ्कलन गरी उनीहरुको जीवन निर्वाहमा टेवा पुर्याउनका लागि हरेक महिना रु पाँच हजार भत्ता प्रदान गर्ने व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो ।

गाउँसभाले समपूरक कोषको रु एक करोड ४० लाख र सञ्चित कोषको रु दुई करोड पाँच लाख गरी कूल रु तीन करोड ४५ लाख बजेट विनियोजन गरिएको छ । उक्त बजेटबाट २४ वटा योजना सम्बोधन गरिएको अध्यक्ष थापाले बताउनुभयो । गाउँसभाले विभिन्न विधेयक पारित गरेको छ ।

नागरिकलाई प्राकृतिक प्रकोपका रुपमा रहेको चट्याङको प्रकोपबाट बचाउनका लागि प्रदेश सरकारसँगको सहकार्यमा चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने परियोजना सञ्चालन थालिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले यस आर्थिक वर्षमा ११ विधेयक तयार गरिएको समेत जनाएको छ । गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशुमा २१ दशमलव शून्य नौ प्रतिशत, उद्यम विकासको १५ दशमलव पाँच प्रतिशत, सहकारीको १२ दशमलव पाँच प्रतिशत वित्तीय प्रगति भएको उहाँको भनाइ छ । सामाजिक विकासतर्फको शिक्षा युवा तथा खेलकुदमा ५७ दशमलव शून्य नौ प्रतिशत, स्वास्थ्यमा ४१ दशमलव पाँच प्रतिशत, महिला, बालबालिका, ज्येष्ठ नागरिकमा ७४ दशमलव ४५ प्रतिशत वित्तीय प्रगति भएको गाउँपालिकाले जनाएको छ ।

चालू आर्थिक वर्षमा गाउँपालिकामा कूल तीन सय ३९ योजनामध्ये जम्मा एक सय ५४ योजना सम्झौता भएको र सम्झौता भएकामध्ये २१ योजना मात्रै निर्माण सम्पन्न भएको विक बताउनुहुन्छ । गाउँसभाले बजेट संशोधन विधेयकसहित विभिन्न १२ विधेयक र ऐन पारित गरेको उहाँको भनाइ छ ।