चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान, आठ सय परिवार लाभान्वित हुने

कञ्चनपुर, १२ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउन दुई वटा डिप ट्युबवेलका योजना सञ्चालन गरिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले मणिधाम टोल र शान्ती टोल फुलेलीमा डिप ट्युबवेल गाड्ने कार्य सुरु गरेको छ । उपभोक्ता समिति गठन गरी योजना निर्माणका कार्य अगाडि बढाइएका छन् ।

वडाध्यक्ष बहादुरसिंह महराका अनुसार मणिकाधाममा र फुलेलीमा एक÷एक करोडको लागतमा योजना निर्माणको काम भइरहेको छ । दुवै योजना निर्माणबाट आठ सय परिवार लाभान्वित हुने उहाँले बताउनुभयो ।

“दुवै योजनाबाट एक सय २० हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध हुने छ”, उहाँले भन्नुभयो, “चुरे फेदीका गाउँमा सिँचाइ सुविधा पुग्न थालेकाले कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ, सिँचाइकै अभावमा कृषि उत्पादन निकै कम हुने गरेको थियो, ट्युबवेल जडान भएर किसानका खेतमा सिँचाइ सुविधा पुगेपछि उत्पादन वृद्धिसँगै किसानको आर्थिक अवस्थामा सुधार हुन्छ ।”

स्थानीय किसान वीरबहादुर चौधरीले डिप ट्यबुवेल जडानसँगै व्यावसायिकरुपमा तरकारीखेती गर्ने सपना साकार हुन लागेको बताउनुभयो । उहाँले सिँचाइको अभावमा खेतबारीमा लगाइएको बालीको उत्पादन चाहेअनुसारको लिन नपाएको बताउनुभयो । “सिँचाइ सुविधा पुग्न थालेपछि निकै खुसी भएका छौँ”, उहाँले भन्नुभयो, “तरकारीखेती गर्ने सोच छ, त्यसका लागि आवश्यक तयारी गरेका छौँ, खेतमा पानी पुगेपछि व्यावसायिक भएर कार्य गर्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *