हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले

म्याग्दी, २२ माघ । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन् । अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली क्षेत्रसम्म गरिएको हिउँदेबाली खेतबारीमै सुक्न थालेको हो ।

वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौँलगायतका हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका २ लमसुङका पलु पुनले बताउनुभयो । “यो समयमा गत वर्ष तीनपटकसम्म हिमपात भएको थियो, तर अहिले हिमपात भएको छैन, वर्षासमेत गत कात्तिक महिनायता भएको छैन, हिउँदेबाली खेतबारीमै सुक्न लागेका छन्”, उहाँले भन्नुभयो ।

यस वर्ष म्याग्दीमा धानको फुल लाग्ने बेलामा भएको भारी वर्षाको कारण धान उत्पादन घटेको अवस्थामा हिउँदेबालीसमेत खेतमै सुक्न थालेपछि कृषक समस्यामा परेका छन् । खेतमा लगाएको गहुँ, जौँसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका ७ ताकमका स्थानीय दीपक सुवेदीले बताउनुभयो ।

हिमपातले हिउँदेबालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृषकका लागि समयमै हिमपातको महत्व रहेको सुवेदीको भनाइ छ । समयमै हिउँ नपर्दा पानीका मुल सुक्ने, असिना पर्ने र त्यसले बालीनालीमा क्षति पुर्याउने भएकाले पनि कृषक हिमपातको प्रतिक्षामा छन् ।

जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलहरूमा पनि देखिन थालेको छ । चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ । जङ्गलमा लालीगुराँस पुसमै फुलेपछि अचम्मित बनेको जनता मावि दग्नामका प्रअ गुनबहादुर पुनले बताउनुभयो । “मौसम परिवर्तन हुँदै गएको छ, भारी वर्षा र भारी चिसोको समस्या हरेक वर्ष बढ्दो छ, पानी र हिउँ समयमा पर्दैन, वनका फूलहरू बेमौसममा फुल्न थालेका छन्”, प्रअ पुनले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *