छठ पर्वअघि सिर्सिया नदी सफाइ र प्रदूषण नियन्त्रण अभियान तीव्र
पर्व सरसफाइ
काठमाडौँ, कात्तिक १७ । छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । नदीमा उद्योगबाट निस्कने रसायनयुक्त फोहर पानी तथा प्रशोधन नगरिएको दूषित पानी मिसिने समस्या नियन्त्रण गरी छठ पर्वमा श्रद्धालुले स्वच्छ वातावरणमा पूजा तथा अर्घ्य दिन सक्ने अवस्था सिर्जना गर्न सरकारी निकाय र स्थानीय तह सक्रिय भएका हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा नदी सरसफाइ, औद्योगिक प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । नदीमा प्रशोधन नगरी औद्योगिक फोहर पानी मिसाउने कार्य रोक्न सम्बन्धित उद्योगलाई निर्देशन दिनुका साथै अनुगमनलाई समेत तीव्रता दिइएको छ ।
उद्योग विभागले यही कात्तिक १४ गते उद्योगहरूलाई नदीमा प्रशोधन नगरिएको फोहर पानी नछोड्न पुनः निर्देशन दिएको थियो । विभागले निर्देशन कार्यान्वयन भए–नभएको विषयमा संयुक्त अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ ।
यसैगरी, कात्तिक १५ गते प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सिर्सिया नदीको प्रदूषण नियन्त्रण र फोहर व्यवस्थापनका लागि पाँचबुँदे निर्णय गरेको छ । बैठकले औद्योगिक क्षेत्रका उद्योगलाई आफ्ना फोहर पानी प्रशोधन केन्द्र २४ सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न तथा प्रशोधन नगरेको रसायनयुक्त पानी नदीमा नछोड्न निर्देशन दिएको छ ।
बैठकले साना तथा मझौला उद्योगका लागि साझा फोहर पानी प्रशोधन केन्द्र स्थापना गर्ने सम्भाव्यता अध्ययन गर्ने निर्णयसमेत गरेको छ । त्यसैगरी, नगरपालिकाबाट निस्कने ढल नदीमा मिसिन नदिन वैकल्पिक निकासको व्यवस्था गर्ने र नदीको दीर्घकालीन संरक्षणका लागि तीनै तहका सरकारको सहभागितामा संरक्षण कोष स्थापना गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
प्रदूषण गर्ने १२ उद्योगलाई एक करोड २० लाख जरिवाना
सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले यसअघि पनि उद्योगमाथि कारबाही गरेको थियो । गत साउन ५ गते सार्वजनिक विवरणअनुसार नदी आसपासका उद्योगबाट निस्कने फोहर पानी परीक्षण गर्दा १२ उद्योगले वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएको थियो । मापदण्ड उल्लङ्घन गर्ने ती उद्योगलाई जनही रु १० लाखका दरले कुल रु एक करोड २० लाख जरिवाना गर्ने निर्णय गरिएको थियो ।
सरकारको पछिल्लो सक्रियताले सिर्सिया नदीको सरसफाइलाई छठ पर्वमा मात्र सीमित नराखी दीर्घकालीन रूपमा प्रदूषणमुक्त बनाउने लक्ष्य लिएको देखिन्छ । त्यसका लागि उद्योगहरूको नियमित अनुगमन, फोहर पानी प्रशोधन प्रणालीको प्रभावकारी सञ्चालन तथा वातावरणीय मापदण्ड उल्लङ्घन गर्नेमाथि कानुनी कारबाहीलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ ।
छठ पर्वमा श्रद्धालुले स्वच्छ नदीमा अर्घ्य दिन पाउने वातावरण निर्माण गर्नुका साथै सिर्सिया नदीको प्राकृतिक अस्तित्व संरक्षण र आसपासका बासिन्दाको जनस्वास्थ्य सुरक्षाका लागि अभियानलाई निरन्तरता दिनुपर्ने देखिन्छ । नदीलाई दीर्घकालीन रूपमा प्रदूषणमुक्त बनाउन गरिएका निर्णयको प्रभावकारी कार्यान्वयन र नियमित निगरानी नै महत्वपूर्ण हुनेछन् ।
