टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प
एजेन्सी, २३ माघ । टर्कीको दक्षिणी क्षेत्रमा सोमबार बिहान ७ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएकाे छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प प्रभावित क्षेत्र गाजिएनटेपमा लगभग २० लाख जनसंख्या रहेकाेमा धेरैजसो सिरियाली शरणार्थी रहेको बीबीसीले जनाएको छ ।
भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का राजधानी अङ्कारासहितका क्षेत्र तथा लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ ।
टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन एजेन्सी एएफएडीले भूकम्पको केन्द्र कहरामनमारस प्रान्तको पाजारसिक सहरमा केन्द्रित भएको बताएको छ।