हसिनाको स्वदेश फर्किने घोषणापछि बङ्गलादेशमा सुरक्षा व्यवस्था कडा
ढाका, ३ मङ्सिर । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकहरूले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि सरकारले राजधानी ढाकासहित सात जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ । सम्भावित हिंसात्मक गतिविधि नियन्त्रण गर्न सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विद्यार्थी नेतृत्वको विद्रोहपछि १५ वर्ष लामो शासन अन्त्य भएसँगै सन् २०२४ अगस्टमा भारत पलायन हुनुभएकी ७९ वर्षीया हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने घोषणा गर्नुभएको छ । प्रदर्शनकारीमाथि भएको घातक दमनसम्बन्धी मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै बङ्गलादेशको अदालतले उहाँलाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो ।
हसिनाको सम्भावित स्वदेश फिर्तीलाई लिएर पछिल्ला दिनमा बङ्गलादेशमा हिंसात्मक घटना बढेका छन् । प्रतिबन्धित अवस्थामा रहेको उहाँको दल अवामी लिगले बिहीबार देशव्यापी प्रदर्शन तथा ‘लकडाउन’ आह्वान गरेको थियो ।
यसैलाई मध्यनजर गर्दै सीमा सुरक्षा बल बङ्गलादेश (बीजीबी) ले हसिनाको गृहजिल्ला गोपालगञ्जसहित सात जिल्लामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
अवामी लिगले समर्थकहरूलाई घरभित्रै बस्न आह्वान गरे पनि ढाकादेखि गोपालगञ्ज जोड्ने राजमार्गका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । प्रदर्शनकारीले यातायात अवरुद्ध गर्नुका साथै केही स्थानमा आगजनी र हिंसात्मक गतिविधि गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
यसैबीच, प्रधानमन्त्री तारिक रहमानले राजनीतिक विरोधीहरूले देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाउनुभएको छ । उहाँले लोकतन्त्र समर्थक शक्तिहरूलाई एकजुट भएर यस्ता गतिविधिको सामना गर्न आग्रह गर्नुभएको छ ।
प्रहरीका अनुसार अवामी लिगसँग सम्बन्धित १०७ जनालाई बुधबारदेखि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहनुभएको छ ।
पूर्वप्रधानमन्त्री हसिनाले पछिल्ला सातामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै डिसेम्बरमा स्वदेश फर्कने प्रतिबद्धता दोहोर्याउँदै आउनुभएको छ । उहाँको घोषणासँगै बङ्गलादेशमा राजनीतिक तनाव थप चुलिएको छ भने सरकारले सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै निगरानी र सुरक्षा व्यवस्था बढाएको छ ।
