विवादास्पद मूर्ति हटाउन पुरातत्वको पत्र

काठमाडौं, २३ माघ । कीर्तिपुरको गःछेँ भन्ने स्थानमा स्थापना गरिएको श्री रातो मत्स्येन्द्रनाथ (बुंगद्यः) को मूर्ति त्यहाँबाट हटाउन पुरातत्व विभागले पत्र काटेको छ ।

पाटनको बुंगमती र तःबहालमा मात्रै राख्ने परम्परा रहेको रातो मत्स्येन्द्रनाथको मूर्ति कीर्तिपुरमा पनि राख्नाले रातो मत्स्येन्द्रनाथ जात्रा सम्बन्धी परम्परामा विकृति आउने भन्दै बुंगमतीका ३२ पानेजु संघले विरोध जनाएपछि कीर्तिपुरमा राखिएको मूर्ति विवादमा परेको हो ।

यस विषयमा लामो वादविवाद भएपछि अन्ततः पुरातत्व विभागले गत पुस २५ गते काठमाडौं महानगरपालिकालाई एक पत्र लेखी कीर्तिपुरको गःछेँ टोलमा राखिएको रातो मत्स्येन्द्रनाथको मूर्ति त्यहाँबाट हटाउन निर्देशन दिएको हो ।

कीर्तिपुरमा स्थापना गरिएको उक्त मूर्ति निर्माण गर्न काठमाडौं महानगरपालिकाले रु. १७ लाख निकासा गरेको थियो भने मूर्ति ललितपुरका कलाकारहरूले निर्माण गरेका थिए । त्यसैले पुरातत्व विभागले मूर्ति हटाउने पत्र पनि काठमाडौं महानगरपालिकाकै नाममा काटेको हो ।

काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले उक्त पत्रबारे कीर्तिपुरका गःछेँ टोलस्थित गःछेँ सुखी समाजलाई जानकारी गराइसकेको छ । कीर्तिपुरमा उक्त मूर्ति निर्माण र स्थापना गर्ने कार्य गःछेँ सुखी समाजकै पहलमा भएको हो ।

अहिले मूर्ति हटाउने पुरातत्वको पत्र आएपछि कीर्तिपुरको सुखी समाज भने दुःखी भएको छ । आफूहरुले त्यत्रो उत्साहका साथ निर्माण गरी बाजागाजा सहित जात्रा गरेर कीर्तिपुर भित्र्याएको मूर्ति अब फिर्ता पठाउनुपर्दा आफूहरूलाई ठूलै दुःख लाग्ने कुरा सुखी समाजका सचिव नारायण महर्जनले बताउनुभएको छ ।

तर बुंगमतीको ह्यगृव भैरवनाथ तथा ३२ पानेजु संघले भने आवश्यक नभएको र राख्नै नपर्ने ठाउँमा श्री रातो मत्स्येन्द्रनाथको मूर्ति राख्नाले यो देवताको जात्रा प्रभावित हुने र परम्परा बिथोलिने भन्दै मूर्ति त्यहाँबाट हटाउनुपर्ने माग राख्दै आएको छ ।

कीर्तिपुरको गःछेँ टोलस्थित प्यंगःथां भन्ने ठाउँसँग ललितपुर रातो मत्स्येन्द्रनाथ जात्राको एक प्रशंग जोडिन आउँछ । हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा हुँदा जब रथलाई लगनखेलबाट जावलाखेल तान्ने दिन आउँछ, त्यसको एक दिन अगाडि जात्राका मूल पानेजुहरू रातो मत्स्येन्द्रनाथको फूल प्रसाद लिई कीर्तिपुरको गःछेँ टोलमा जाने र त्यहाँकी एक कन्या केटीलाई उक्त फूल प्रसाद अर्पण गर्ने परम्परा रहँदै आएको छ ।

फूल प्रसाद ग्रहण गर्ने उक्त कन्या केटी रातो मत्स्येन्द्रनाथकी प्रेमिका हुन् भन्ने किंवदन्ती पाइन्छ । एक दिन रथ तान्ने तयारी गरिरहँदा रथमा मत्स्येन्द्रनाथको आत्मा गायब भएको थाहा भयो । आत्मा कहाँ गएछ भनी खोज्दै जाँदा उहाँ कीर्तिपुरको यही गःछेँ टोलमा आफ्नी प्रेमिकालाई भेट्न आइरहनुभएको पत्ता लागेछ ।

त्यसपछि उहाँ जात्रा भएकोले आफू जानुपर्ने भयो, तर हरेक वर्ष जात्राको बेला आफ्नो चिनो स्वरुप प्रेमिकालाई फूल प्रसाद पठाउँछु भन्ने बाचा गरी फर्कनुभयो । त्यो बेलादेखि हरेक वर्ष जात्राका बेला रातो मत्स्येन्द्रनाथका तर्फबाट यसरी फूल प्रसाद ल्याउने परम्परा शुरु भएको जनश्रुति रहेको छ ।

हालका वर्षहरूमा रातो मत्स्येन्द्रनाथका तर्फबाट ल्याइने यस्तो फूल प्रसाद गःछेँनिवासी सुश्री रामकुमारी महर्जनले ग्रहण गर्दै आइरहेको छ ।

यस्तो किंवदन्ती र परम्परा रहेको ठाउँमा अब रातो मत्स्येन्द्रनाथ र कन्या कुमारीको मूर्ति नै स्थापना गर्दा सो ठाउँमा मत्स्येन्द्रनाथको फूल प्रसाद ल्याइ रहनै नपर्ने बुंगमतीका पानेजुहरुको तर्क रहेको छ ।

यस्तो किंवदन्ती र परम्परा रहेको ठाउँमा अब रातो मत्स्येन्द्रनाथ र कन्या कुमारीको मूर्ति नै स्थापना गर्दा सो ठाउँमा मत्स्येन्द्रनाथको फूल प्रसाद ल्याइ रहनै नपर्ने बुंगमतीका पानेजुहरुको तर्क रहेको छ ।

फूल प्रसाद ग्रहण गर्ने कन्या कुमारी पनि जीवितै रहेको हुनाले उहाँको निर्जीव मूर्ति स्थापना आवश्यक नभएको पनि पानेजुहरूको दावी रहेको छ ।

उता कीर्तिपुर गःछेँका स्थानीयवासीहरू भने अब मूर्ति ल्याइ नै सकिएको छ, त्यसैले स्थापना गरिसकिएको मूर्ति फिर्ता लाने बाहेक परम्परा चलाउन आवश्यक अर्को जुनसुकै कार्य गर्न पनि आफूहरु तयार रहेको बताइरहेका छन् ।

बुंगमतीका पानेजुहरूले भने ती मूर्तिहरू त्यहाँबाट नहटाए हरेक वर्ष ल्याइरहेको पूmल प्रसाद ल्याउन बन्द गर्नुपर्ने चेतावनी दिएका छन् ।

उता कीर्तिपुरका गःछेँ निवासीहरूले पनि यदि मूर्ति फिर्तै पठाउनु पर्ने अवस्था आयो भने आफूहरुले पनि पानेजुहरूले ल्याउने फूल प्रसाद ग्रहण नगर्ने वातावरण बन्न सक्ने धम्की दिएका छन् ।

यस्तो अवस्थामा संस्कृतिप्रेमिहरूले अब दुई पक्षबीच वार्ता गरी समस्याको समाधान निकाल्नुपर्ने बिचार अघि सारेका छन् । मूर्ति स्थापना गर्नु अघि नै यी विषयहरूमा गम्भीर छलफल र सहमति गर्नुपर्नेमा त्यसो नगरिएको कारणले यो समस्या उत्पन्न भएको उहाँहरू बताउनुहुन्छ ।

हुँदै नभएको ठाउँमा मूर्ति स्थापना गर्ने कार्यले यो समस्या उत्पन्न भएको र अब सामाजिक सद्भाव विथोलिने सम्भावना देखिएकोले पुरातत्व विभागले पनि मूर्ति हटाउनु पर्ने निर्णय गरिसकेका कारण त्यतातिर ध्यान दिनुपर्ने राय पनि उहाँहरूले दिनुभएको छ ।

कीर्तिपुरमा रातो मत्स्येन्द्रनाथको मूर्ति स्थापना गर्न काठमाडौं महानगरपालिकामा सहयोगको लागि प्रस्ताव आउँदा एमालेका जनप्रतिनिधिहरुले त्यसलाई अस्वीकार गरेको थियो । तर नेपाली कांग्रेसका वडा अध्यक्ष एवं मनपाका प्रवक्ता नविन मानन्धरको दबाबले गर्दा यी सबै कुराहरूलाई वेवास्ता गरी मेयर बालेन साहले मूर्ति निर्माणको लागि १७ लाख रुपैयाँ निकासा गर्नुभएको थियो ।

अहिले त्यो मूर्ति पनि हटाउने भनी पुरातत्व विभागले पत्र पठाएको कारण महानगरपालिकाले काठमाडौंका जनताले तिरेको करबाट जम्मा भएको १७ लाख रुपैयाँ गलत ठाउँमा लगानी गरेको पनि पुष्टि भएको बताउन थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *