प्रचण्ड–ओली भेट सकारात्मक, उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमति

काठमाडौं, २५ माघ । पछिल्लो समय नेकपा (एमाले) नेतृत्वको गठबन्धनमा केही दरार उत्पन्न भएको भन्ने कोणबाट चर्चा चलिरहेका बेला आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुग्नु भएको छ ।

निकै लामो समय भएको छलफल सकारात्मक रहेको बालकोट स्रोतले जानकारी दिएको छ । पछिल्लो समय दुई नेताबिच भेटघाट अलिक पातलो बनेको र प्रधानमन्त्री प्रचण्ड उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न अनिक्षुक देखिनु भएको भन्ने कोणबाट पनि चर्चा भैरहेको थियो । अझ राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेपछि गठबन्धन टुट्नेसम्मको चर्चा चलेको थियो ।

तर, आज प्रचण्ड ओली निवास पुगेर गरेको छलफलसँगै सकारात्मक माहोल बन्ने अपेक्षा गरिएको छ । दुई नेताबिचको भेटवार्ता सकारात्मक देखिएको स्रोतको भनाई छ । उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सहमतिलाई समेत सकारात्मक रुपमा हेरिएको छ । राष्ट्रपतिको निर्वाचन नजिकै आउँदै गर्दा कांग्रेसको सक्रियतालाई समेत गठबन्धनमा देखिएको दरारसँग जोडिर हेरिरहेका बेला आजको भेट थप अर्थपूर्ण रहेको छ ।

भेटवार्तापछि बाहिरिनु भएको प्रधानमन्त्री प्रचण्डको हाउभाउले पनि वार्ता सकारात्मक रहेको संकेत गर्थ्याे । प्रचण्डले भेटपछि बाहिरिने क्रममा उच्च स्तरीय राजनीतिक संयन्त्र बैठक बसेर सहज रूपमा कसरी अगाडि बढ्ने पनि जानकारी गराउनुभयो ।

उहाँले राष्ट्रपतिको विषयमा पनि भोलि छलफल हुने जानकारी गराउनुभयो । आगामी २८ फागुनमा राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल पूरा हुँदैछ । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । राष्ट्रपतिको निर्वाचनलाई लिएर विभिन्न आशंका उत्पन्न भैरहेका बेलाको यो भेट सकारात्मक बन्ने अपेक्षा पनि गरिएको छ ।