संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिले भण्डारीले सम्बोधन गर्ने

काठमाडौं, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् ।

शुक्रबार अपराह्न ३ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हाे। यसका लागि संघीय संसद सचिवालयले आवश्यक तयारी गरिसकेको छ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रपतिले गर्ने सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने छन् ।

नेपालको संविधानको धारा ९५ बमोजिम यही माघ २७ गते तीन बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन्। संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसदको कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्नेछ भन्ने व्यवस्था छ।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधि सभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसदको दुवै सदaनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछ’ भन्ने प्रावधान छ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो अधिवेशन हाल जारी छ। पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन्।