काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी तीव्र, १७ स्थानमा घाट निर्माण
काठमाडौँ, कात्तिक २६ । छठ पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, पोखरी तथा जलाशयमा घाट निर्माण, सरसफाइ र व्यवस्थापनको काम तीव्र पारिएको छ । पछिल्ला वर्षमा उपत्यकामा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा पूजाको तयारी भइरहेको छ ।
काठमाडौँका गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पूजाका लागि आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको छ । नदी तथा जलाशयका किनारमा घाट निर्माण, पाल टाँग्ने, बत्ती जडान गर्ने र सरसफाइ गर्ने कामलाई प्राथमिकता दिइएको छ ।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । पूजास्थलमा पाल टाँग्ने, प्रकाशको व्यवस्था गर्ने तथा नदी किनार सफा गर्ने काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
काठमाडौँमा छठ पर्व मनाउने परम्परा विस्तार हुँदै गएको उल्लेख गर्दै अध्यक्ष सिंहले व्रतालुलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन व्यवस्थापन समिति जुटिरहेको जानकारी दिनुभयो । अस्ताउँदो र उदाउँदो सूर्यको आराधना गरिने यस पर्वमा श्रद्धालुले मनोकामना पूरा हुने विश्वासका साथ व्रत बस्ने परम्परा रहेको उहाँको भनाइ छ ।
उपत्यकामा गौरीघाट र गुह्येश्वरी क्षेत्र, कमलपोखरी, बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्रमा छठ पूजा गर्ने गरिएको छ । त्यसैगरी विष्णुमती र नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुको बाइसधारामा पनि पूजाको तयारी भइरहेको छ ।
काठमाडौँ महानगरपालिकाले विगतका वर्षदेखि कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ । बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन गरिँदै आएको छ ।
चार दिनसम्म विभिन्न धार्मिक विधि र आस्थाका साथ मनाइने छठ पर्वमा व्रतालुले नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने परम्परा छ ।
यस वर्ष कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ ।
विशेषगरी तराई-मधेस क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली जिल्लामा पनि विस्तार हुँदै गएको छ । धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा यस पर्वको महत्त्व बढ्दै गएको छ ।
