एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका दुई खेलाडी सहभागी हुँदै

एसियन बडीबिल्डिङ च्याम्पियनसिप

काठमाडौँ, कात्तिक २६ ।  थाइल्यान्डको पटायामा आयोजना हुने एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अन्तरराष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस महासङ्घ (आइएफबिबी) ले प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीलाई आज बिदाइ गरेको छ । यही कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई सफलताको शुभकामनासहित बिदाइ गर्नुभएको हो ।

बिदाइका क्रममा अध्यक्ष श्रेष्ठले अन्तरराष्ट्रिय खेलमञ्चमा नेपालको प्रतिनिधित्व गर्दा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई प्रोत्साहित गर्नुभयो ।

प्रतियोगितामा अनिश थापा र असिमबाबु गुरुङले नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा रामबहादुर दाहाल रहनुभएको छ ।

त्यसैगरी नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासङ्घका महासचिव तथा अन्तरराष्ट्रिय निर्णायक अजयकुमार बज्राचार्य पनि प्रतियोगितामा सहभागी हुनुहुनेछ ।

बिदाइ कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ, बोर्ड सदस्य नरेश मल्ल, आइएफबिबीका अन्तरराष्ट्रिय निर्णायक केशव नागा, अन्तरराष्ट्रिय खेलाडी अवतार श्रेष्ठ, राष्ट्रिय खेलाडी सुरेन्द्र लामा र रमेश खुम्बु तथा राष्ट्रिय निर्णायक दीपेश पाठक र शम्भु अधिकारीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *