सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध : यात्रु बीच बाटोमै रोकिए

काठमाडौँ, कार्तिक २७ । चट्टानसहितको सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका २ राक्सेमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो हटाई सडक खुलाउने प्रयास भइरहेको छ । प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीको समन्वयमा सडकमा थुप्रिएको पहिरो हटाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

तिहारको समयमा सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरातर्फ आवतजावत गर्ने सवारीसाधन र यात्रु प्रभावित भएका छन् । गएरातिदेखि नै विभिन्न गन्तव्यतर्फ गइरहेका सवारीसाधन तथा यात्रु बीच बाटोमै रोकिएका छन् ।

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि सवारी चाप बढ्दै गएको यो सडक जिल्लाका व्यस्त सडकमध्ये एक हो । सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन प्रभावित बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *