असिना पानीले भोजपुरमा पाकेको धानबालीमा क्षति
काठमाडौँ, कार्तिक २७ । धान भित्र्याउने समयमा बुधबार अचानक असिना पानी परेपछि भोजपुरका विभिन्न स्थानमा पाकेर तयार भएको धानबालीमा क्षति पुगेको छ । असिना पानीले धान झार्ने र ढाल्ने गर्दा किसान चिन्तित बनेका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा परेको असिना पानीले खेतमा पाकेर काट्न तयार भएको धान तथा काटेर सुकाइरहेको धानमा क्षति पुर्याएको हो ।
भोजपुर नगरपालिका ५ का किसान धनबहादुर थापाले अचानक परेको असिना पानीले धानबालीमा क्षति पुगेको बताउनुभयो । उहाँका अनुसार कतिपय किसानले धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् ।
धान पाकेर खेत पहेँलपुर भएको अवस्थामा मौसममा आएको परिवर्तनले किसान थप समस्यामा परेका छन् । असिना पानी पुनः परेमा पाकेको धान झर्ने, बोट ढल्ने तथा खेतमा सुकाइएको धानसमेत नष्ट हुने जोखिम रहेको किसानको भनाइ छ ।
असिना पानी दोहोरिन सक्ने चिन्ताले किसानलाई समयमै धान भित्र्याउन कठिनाइ भएको छ ।
