दूरसञ्चार प्राधिकरणद्धारा प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज

काठमाडौं, २७ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौं र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई दिइएको अनुमति पत्र खारेज गरिएको जनाएको हो ।

इन्टरनेट (इमेलसहित) प्रमु डिजिटल (अनुमतिपत्र नं फि ज १–१२१० र एलएनटीले अनुमतिपत्र नं फि ज १–१२२० नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५०) बमोजिम स्वतः खारेज भएको जनाएको छ ।

साथै इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गरेबापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम ३० दिनभित्र तिर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ । अन्यथा बाँकी बक्यौता रकम प्रचलित कानुनअनुसार असुलउपर गरिने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ ।

यसअघि माघ १६ गते प्राधिकरणले लाइसेन्स नवीकरण नगरेको भन्दै केसिएन नेट प्राली बौद्धलाई दिइएको लाइसेन्ससमेत खारेज गरेको थियो ।