लगातार तेस्रो युरोपेली उपाधितर्फ पीएसजी: के पारिस सेन्ट-जर्मेन नयाँ ‘साम्राज्य’ खडा गर्दैछ?
कतार स्पोर्ट्स इन्भेस्टमेन्ट (QSI) ले १५ वर्षअघि क्लब खरिद गरेपछि पीएसजी फ्रान्सको सबैभन्दा सफल टोली बनेको थियो। तर, सुरुवाती वर्षहरूमा ठूला ताराहरूमाथि अनियन्त्रित बजेट खर्च गरे पनि युरोपेली ट्रफी भने पाउन सकेको थिएन।
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन पारिस सेन्ट-जर्मेन (PSG) ले पुनः आफ्नो दबदबा सिद्ध गरेको छ। घरेलु मैदानमा सानदार प्रदर्शन गर्दै पीएसजीले युरोपेली फुटबलमा आफ्नो साम्राज्यनिर्माणको यात्रालाई थप बलियो बनाएको छ।
प्रशिक्षक लुइस एनरिकको टोलीले पहिलो हाफमै ३–० को अग्रता लिँदै इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई पूर्ण रूपमा दबाबमा राखेको थियो। दोस्रो हाफमा सिटीले पुनरागमनको प्रयास गरे पनि पीएसजीले थप एक गोल गर्दै जित सुनिश्चित गर्यो।
सन् २०२५ को फाइनलमा इन्टर मिलानलाई ५–० ले पराजित गरेको पीएसजीले अघिल्लो सिजन आर्सनललाई पेनाल्टी सुटआउटमा हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको थियो। अब टोली लगातार तेस्रो पटक युरोपेली च्याम्पियन बन्ने ऐतिहासिक लक्ष्यमा अघि बढेको छ। यदि पीएसजी यसपटक पनि च्याम्पियन बनेमा, सन् १९५६ यता लगातार तीन पटक उपाधि जित्ने पाँचौँ टोली र च्याम्पियन्स लिगको आधुनिक युगमा दोस्रो टोली बन्नेछ।
“पीएसजी अर्कै स्तरमा छ”
खेलको हाफ-टाइममै बिबिसी रेडियो ५ सँग कुरा गर्दै पूर्व फुटबलर क्रिस सटनले भने, “यो पीएसजी टोली अर्कै स्तरमा छ। उनीहरूले म्यानचेस्टर सिटीमाथि पूर्ण रूपमा प्रभुत्व जमाए, सिटीका खेलाडीहरूले पास मिलाउनसम्म सकिरहेका थिएनन्।”
उहाँले थप्नुभयो, “पीएसजीको हाइ-प्रेसिङ र खेलको तीव्रता (Intensity) अरू कुनै टोलीको भन्दा भिन्न छ। प्रिमियर लिगको उत्कृष्ट टोलीलाई उनीहरूले यसरी हराए, त्यो पनि सिजनको सुस्त सुरुआतका बाबजुद।”
भड्किलो खर्चबाट ‘सङ्गठित टोली’तर्फको यात्रा
कतार स्पोर्ट्स इन्भेस्टमेन्ट (QSI) ले १५ वर्षअघि क्लब खरिद गरेपछि पीएसजी फ्रान्सको सबैभन्दा सफल टोली बनेको थियो। तर, सुरुवाती वर्षहरूमा ठूला ताराहरूमाथि अनियन्त्रित बजेट खर्च गरे पनि युरोपेली ट्रफी भने पाउन सकेको थिएन।
क्लबका अध्यक्ष नासेर अल-खेलाइफीले भड्किलो (Bling-bling) युगको अन्त्यको घोषणा गरेपछि टोलीको रणनीति परिवर्तन भएको थियो। सन् २०२३ मा प्रशिक्षकका रूपमा लुइस एनरिकको आगमनसँगै टोलीमा युवा र अनुशासित खेलाडीहरूलाई प्राथमिकता दिन थालियो। एनरिकको अनुशासन, tactical स्पष्टता र युवा खेलाडीहरूलाई निखार्ने नीतिकै नतिजा स्वरूप पीएसजी आज युरोपकै सबैभन्दा बलियो र सशक्त टोलीका रूपमा स्थापित भएको छ।
