अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ हलमा

काठमाडाैं, १ फागुन । अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ हलमा प्रदर्शन हुने भएकाे छ । चलचित्र निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै आउँदो वर्षको वैशाख २९ गते नेपालभर प्रदर्शन गर्ने तय गरिएको हाे ।

विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा छन् । निर्देशक सापकोटाका अनुसार गाउँमा चिठ्ठी पर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई चलचित्रमा देखाउने कोसिस गरिएकाे छ,

चलचित्र सत्यकथा प्रेरित भएता पनि मनोरञ्जक हिसाबले प्रस्तुत गरिएको छ । यसमा अभिनेता त्रिपाठीले हुलाकीको चरित्र निर्वाह गरेका छन् । यसमा उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।

‘हल्कारा’ अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिवल’मा उत्कृष्ट घोषित भएको थियो भने अभिनेता त्रिपाठीले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए ।

यसअगाडि कालोपोथी, सेतो सूर्यलगायतका चलचित्रसमेत अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएपछि मात्र प्रदर्शन भएका थिए ।