पर्यटकका रोजाइमा बागलुङको ‘बेलढुङ्गा’

बागलुङ, ७ फागुन । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा रहेकाे बेलढुङ्गा रोजाइमा परेको छ ।

दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेकाे हाे ।

आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्यो ।

हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र दृश्याअवलोन गर्नेहरूको कमी भने भएन । बेलढुङ्गा बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहजरूपमा यहाँ पुग्ने गरेका हुन् ।

यातायात र पदमार्गमार्फत पुग्न सकिने हुँदा दैनिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीयवासीको भनाइ छ । पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको सङ्ख्या अझ बढ्दो छ ।

बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । यहाँबाट अनगिन्ती हिमशृङ्खलासँगै, बागलुङ र म्याग्दीका अधिकांश भू–भागसँगै पर्वत, कास्की, गुल्मीलगायतका ठाउँ सहजरूपमा देख्न सकिन्छ । अब ढकमक्क गुराँस फुलेर वनै ढाक्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको बेलढुङ्गा सामुदायिक होमस्टेका सचिव गोपाल श्रीसले बताउनुभयो ।

यस वर्ष एक दिन पनि बेलढुङ्गा रित्तो नभएको श्रीस बताउनुहुन्छ । बर्खाको समयमा पनि पदमार्गबाट यहाँ पर्यटक घुम्न आएको भन्दै पछिल्लो समय दैनिक एक सय हाराहारीमा पर्यटक आउने गरेको उहाँको भनाइ छ । पूर्वाधार निर्माण र प्रचार–प्रसारपछि बेलढुङ्गामा बाह्रै महिना पर्यटक आउन थालेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय बिदाको दिन विद्यार्थी, विभिन्न सङ्घसंस्था गाडी लिएर घुम्न तथा वनभोज खान आउनेको सङ्ख्या बढेको उहाँको भनाइ छ । म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नुपथ्र्यो भने अहिले पदमार्गमार्फत सहजरूपमा टुप्पोमा पुग्न सकिन्छ ।

काठेखोला गाउँपालिकाका प्रवक्त टीकासङ्गम विकले बेलढुङ्गा गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य रहेको जनाउँदै यसको प्रवद्र्धनका लागि गाउँपालिकाले योजना बनाएर लागेको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, बेलढुङ्गा काठेखोलाको शिर हो, गौरव हो, यस ठाउँमा अझै थुप्रै संरचना बनाउन बाँकी छ, पहिलेको तुलनामा यसको मुहार निकै फेरिएको छ, अब संचरना बनाउने, प्रचार–प्रसार गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने गरी काम गर्छौँ, पर्यटनमार्फत यहाँ समृद्ध हासिल गर्ने लक्ष्य छ ।