बालुवाटारमा ढोक्सा थाप्दै कांग्रेस, जुट्ला त नेपालको नाममा सहमति ?

काठमाडौं, १२ फागुन । राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन अर्थात् आजसम्म पनि भावी राष्ट्रपति को बन्ने भन्ने यकिन टुंगो लागेको छैन । यद्यपि, दौडधुप भने जारी छ । आजै पनि प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबिच वार्ता जारी छ ।
पछिल्लो समय प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने प्रतिवद्धतासँगै अहिले कांग्रेस पनि राष्ट्रपतिका लागि ढोक्सा थापिरहेको छ । तर, पछिल्लो समय बिकल्पका रुपमा नेकपा (एमाले)को सहित समर्थनमा नेकपा समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिका रुपमा अघि सारेपछि प्रचण्ड स्वयं अप्ठ्यारोमा पर्नुभएको छ । दुई दिन अघिसम्म कांग्रेसलाई समर्थन गर्ने निश्चित भैसकेको अवस्थामा नेपालको नामपछि प्रचण्ड थप सहमतिको दौडधुपममा हुनुहुन्छ ।
आज बालुवाटारमा कांग्रेससँग कुरा नमिलेको अवस्थामा माधव नेपाल राष्ट्रपति बन्ने निश्चित जस्तै हुन्छ । यसो भएको अवस्थामा अहिलेको गठबन्धन केही समयका लागि जारी रहने र प्रचण्ड सुध्रिएको अवस्थामा बामपन्थी दलहरुबिच थप र बलियो सहकार्य हुने ढोका खुल्ने छ ।
बालुवाटार बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी हुनुहुनछ । कांग्रेस पछिल्लो समय पुरानो गठबन्धन व्यूँताउने रणनीतिमा छ । बालुवाटारको अहिले जारी बैठकले गर्ने निर्णयसँगै राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने विषय पनि प्रष्ट बन्ने छ ।