फागुन २५ गतेदेखि मोदी ईनर्जीले आईपीओ निष्काशन गर्दै, क-कस्ले भर्न पाइन्छ ?

काठमाडाैं, १६ फागुन । मोदी ईनर्जी लिमिटेडले फागुन २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गा.वि.स. हाल कुश्मा नगरपालिका ३, साविक बाजुङ्ग गा.वि.स. हाल मोदी गाउँपालिका ५, साविक देवपुर गा.वि.स. हाल मोदी नगरपालिका २, साविक तिलहर गा.वि.स. हाल मोदी गाउँपालिका ६ र साविक चुवा गा.वि.स. हाल कुश्मा नगरपालिका ८ का स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

साथै सर्वसाधारणमा निष्काशन हुने शेयरको १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्ने शेयरको ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ९ गतेभित्र आवेदन दिनु पर्नेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

स्थानीय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्रति दरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *