राष्ट्रपतिबाट पूर्व भैरवलाई भिक्षादान

काठमाडौं, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै चुडाकर्म गरिनुभएका श्री पूर्व भैरव रुजन शाक्यलाई भिक्षादान गर्नुभएको छ । हिजो राष्ट्रपति भवन शितल निवासमा पूर्व भैरव शाक्यलाई राष्ट्रपति भण्डारीले बौद्ध परम्परा अनुसार भिक्षादान गर्नुभएको हो ।
काठमाडौंका नेवाः बौद्धहरूमा चुडाकर्म गरिँदा चिवर लगाई विभिन्न सात वटा घरमा गएर भिक्षाटन गर्नुपर्ने परम्परा छ । यस क्रममा पूर्व भैरव रुजन शाक्य भिक्षाटनका लागि राष्ट्रपति भवन पुग्नुभएको हो ।
इन्द्रजात्रामा रथयात्रा चलाइने पूर्व गणेश र पूर्व भैरवहरूको चुडाकर्म (प्रव्रज्याभिषेक) गरिँदा सबैभन्दा पहिलो भिक्षाटन राष्ट्रप्रमुखबाट गर्नुपर्ने परम्परा रहँदै आएको छ । तर बीचमा भने यो परम्परा टुटेको देखिन्छ । अहिले पुनः सोही परम्परालाई निरन्तरता दिँदै राष्ट्रप्रमुखबाट भिक्षादान गरिएको हो ।
हिजो भिक्षाटनका क्रममा राष्ट्रपति भण्डारीबाट सबैभन्दा पहिले पूर्व भैरव रुजन शाक्य, उहाँ संलग्न रहनुभएको केशचन्द्र कृत पारावत महाविहार (इतुम्बहाल) का चक्रेश्वर ओमरत्न शाक्य र महाविहारका अध्यक्ष प्रज्ञारत्न शाक्यलाई बुद्ध, धर्म र संघको प्रतीक स्वरुप तीन वटा प्रज्वलित बत्ती दान गर्नुभएको थियो ।
त्यसपछि चुडाकर्म गरिनुभएका पूर्व भैरव शाक्यलाई चामल लगायत ३२ वटा गुलुपाःमा ३२ प्रकारका गेडागुडी र विभिन्न खाद्यान्नहरू राखी दान गर्नुभएको थियो । शाक्यलाई दान गरिएको चामल भने राष्ट्रपति भवनको भान्छाबाटै ल्याइएको थियो ।
उक्त अवसरमा पूर्व भैरव शाक्य चिवर वस्त्रमा रहनुभएको थियो । बौद्ध नेवारहरूमा चुडाकर्म गरिँदा चार दिनसम्म चिवर लगाई भिक्षु नै बन्नुपर्ने परम्परा छ ।
यी वस्तुहरूको दान पश्चात पूर्व भैरव शाक्य लगायत समारोहमा सहभागी इतुम्बहालका दश जना थायपा (वरिष्ठ सदस्य) हरू लाई दक्षिण प्रदान गर्नुभएको थियो ।
सो अवसरमा उहाँहरूले बौद्ध स्तोत्र पाठ गरी सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको थियो ।