मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु
सामाचकेवा पर्व
काठमाडौँ, कार्तिक २८ । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ । कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने यो पर्व पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरी समापन गरिन्छ ।
पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारी एकत्रित भई परम्परागत गीत गाउने, नाच्ने र दाजुभाइको सुख, समृद्धि तथा दीर्घायुको कामना गर्ने चलन छ । यस पर्वले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै मिथिलाको मौलिक संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुर्याउँदै आएको छ ।
पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार पहिलो दिन दिदीबहिनीले समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुग्ने गर्छन् । त्यहाँ दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो बनाई सामा र चकेवालगायत विभिन्न आकृति निर्माण गर्ने परम्परा छ ।
निर्माण गरिएका सामाचकेवालाई रातो रङको बाँसको डालामा सजाएर दियो बाल्ने गरिन्छ । त्यसपछि रातिको समयमा गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर सामूहिक रूपमा नाचगान गरिन्छ । यसरी दिदीबहिनीले १० दिनसम्म सामाचकेवा खेल्दै दाजुभाइको दीर्घायु र सुखसमृद्धिको कामना गर्ने परम्परा रहेको शास्त्रीले बताउनुभयो ।
यस अवसरमा महिलाले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ तथा ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ जस्ता परम्परागत गीत गाउने गर्छन् । यी गीतमा दाजुभाइप्रतिको स्नेह र पारिवारिक आत्मीयता अभिव्यक्त हुने गरेको छ ।
पर्वको एघारौँ दिन बिहानै सामाचकेवाका आकृति पुनः निर्माण गरी रङ्गरोगन गरिन्छ । साँझ दाजुभाइलाई दहीचिउरा खुवाएर परम्पराअनुसार फाँर भर्ने र दाजुभाइबाट सामाचकेवा फुटाउने विधि पूरा गरिन्छ । त्यसपछि बाजागाजासहित नाचगान गर्दै सामाचकेवाको विसर्जन गरी पर्व समापन गरिन्छ ।
सामाचकेवा पर्व मनाउन विवाहित महिलाहरू माइत जाने परम्परा रहेकाले यस अवसरमा टाढा रहेका दिदीबहिनीसमेत माइतीघर फर्किने गर्छन् । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले पनि छरछिमेक तथा आफन्तसँग मिलेर सामूहिक रूपमा पर्व मनाउने गरेका छन् ।
मधेस प्रदेशका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्सालगायत जिल्लामा विशेष उत्साहका साथ मनाइने यो पर्व सीमावर्ती भारतीय जिल्लाहरूमा समेत प्रचलित छ । दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई आत्मीय बनाउने यस पर्वले मिथिलाञ्चलको सांस्कृतिक पहिचान र परम्परालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
