अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाद्वारा निःशुल्क स्वास्थ्य सेवा

मनाङ, २३ फागुन । मनाङ आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)ले निःशुल्क सेवा प्रवाह गर्दै आएको छ ।

अन्नपूर्ण पदमार्गमार्फत यात्रा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको एक्यापले जनाएको छ । लेक लाग्ने, अन्य विभिन्न रोगसम्बन्धी आयोजनाले निःशुल्क सेवा प्रवाह गर्दै आएको हो ।

विशेषगरी मनाङ भ्रमणमा आउने पर्यटकमा लेक लाग्ने समस्या बढी हुने भएकाले स्थापना कालदेखि नै एक्यापले निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्दै आएको एक्यापका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिइन् । उनका अनुसार चालु आर्थिक वर्ष आन्तरिक तथा बाह्य गरी कूल नौ सय ९५ ले स्वास्थ्य सेवा लिएका छन् ।

चालु आवको साउनदेखि पुससम्मको अवधिमा एक्यापबाट स्वदेशी पुरुष चार सय ९१ र महिला चार सय ३८ कूल नौ सय २९ र विदेशी पुरुष ४२ र महिला २४ गरी कूल ६६ पर्यटकले निःशुल्क सेवा लिएको उनले बताइन् । विशेषगरी थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल, आइसलेक जाने मनाङ आउने पर्यटकले स्वास्थ्य सेवा लिने गरेका छन् ।

“मनाङको पर्यटकीय क्षेत्र अन्नपूर्ण पदमार्गको यात्राका लागि सिधैँ माथिल्लो मनाङ सवारीसाधनमार्फत पुग्दा पर्यटकलाई समस्या हुने गरेको पाइएको छ, लेक लाग्ने, झाडापखाला, वान्ता हुने समस्याबाट बिरामी भएर निःशुल्क सेवा लिन आउने गर्दछन्”, अर्यालले भनिन्, “विदेशी पर्यटकले केही मात्रामा सावधानी अपनाउने गरेको पाइएको छ ।”

स्थानीय महिला बढी मात्रामा जोर्नी दुख्ने, पाठेघरसम्बन्धी समस्या, श्वासप्रश्वासको समस्या, उच्च रक्तचाप सम्बन्धित रोगको उपचारका लागि औषधि तथा परामर्श लिन आउने गरेका छन् ।

पहिलो पटक पदयात्रामा आउने पर्यटकलाई सहज बनाउने उद्देश्यले लोकेशन म्याप (स्थानको नक्सा) निर्माण गरिएको छ । हिमपात भइरहने मनाङमा गन्तव्यमा पुग्ने स्थानसम्मको यात्रामा नझुक्कियोस् भनेर साइनिङ पोल, म्याप पोष्टिङ, आवश्यक सङ्केत चिह्न र पुग्नुपर्ने गन्तव्यको नक्सा निर्माण गरिएका छन् ।

पाँच हजार चार सय १६ मिटर उचाइमा रहेका कथोराङ्ला जाने पदमार्ग र पाँच हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो तालसम्मको पदमार्गमा सेतो, पहेँलो र निलो रङका पोल राखिएको छ । उक्त क्षेत्रमा तीन/चार फिटसम्मको हिमपात हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी बाटो पहिचानका लागि विभिन्न रङको पोल राखिएको हाे ।