महिला अधिकारको क्षेत्रमा एमाले सरकारले लिएको नीतिका कारण नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधारः ओली
काठमाडौं, फागुन २४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरूको सहभागिता र नेतृत्व विश्वकै लागि अनुशरणीय रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘विकासका लागि जनसंख्याको आधाभन्दा बढी भाग ओगट्ने महिलाको समान सहभागिता आवश्यक छ,’ उहाँले भन्नुभएको छ, ‘ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ ।’
एमाले नेतृत्वको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको नतिजास्वरूप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको ओलीले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको भन्दै ओलीले संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको पनि बताउनु भएको छ ।
‘समाजमा महिला हिंसा र उत्पीडनका अवशेष कायमै रहेका छन्,’ उहाँले भन्नुभएको छ, ‘विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद तथा हिंसाका घटनाहरुलाई जरैदेखि निर्मूल गर्न अपराधीलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिका लागि ध्यानाकर्षण गराउँछु ।’
राजनीतिक अस्थिरता मार्फत मुलुकलाई दिशाहीन बनाउने र राष्ट्रको समृद्धि र जनताको सुखका लागि नेकपा (एमाले) ले अघि बढाएको अभियान कमजोर बनाउने दुश्प्रयास अहिले पनि जारी रहेको भन्दै उहाँले अस्थिरताको अनुचित लाभ लिएर राष्ट्रिय स्वाधीनता र देशको सामर्थ्यलाई कमजोर बनाउने, अर्थतन्त्रलाई धरासायी बनाउने, विकास निर्माण ठप्प पार्ने र सामथ्र्यहीन राज्यको अवसर छोपेर सामाजिक उत्पीडन र विकृतिहरु बढाउने प्रवृत्तिमाथि हामीले विजय प्राप्त गर्नु आवश्यकता रहेको पनि उल्लेख गर्नुभएको छ ।