चक्रवात ‘अर्नब’को प्रभाव बिहीबारदेखि नेपालमा, पाँच प्रदेशमा वर्षा र हिमपातको जोखिम
काठमाडौं, १० कात्तिक । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव बिहीबारदेखि नेपालमा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चक्रवातका कारण पाँच प्रदेशमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा प्रभाव बढी पर्नेछ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्छ।
कात्तिक १३ र १४ गते कोशी, मधेस, बागमती र गण्डकीका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही ठाउँमा भारी वर्षा हुन सक्ने अनुमान छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै महाशाखाले उच्च हिमाली क्षेत्रमा पर्यटकलाई नजान र गइसकेकालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। किसानलाई बिहीबारअघि नै धानबाली भित्र्याउन तथा जोखिमयुक्त सडक र पहिरो सम्भावित क्षेत्रमा सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक ११ देखि १५ गतेसम्म नारायणी, बागमती, कमला र कोसी नदीका जलाधार क्षेत्रमा वर्षा हुन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
भारतको आन्ध्र प्रदेश र ओडिशामा पनि चक्रवातको जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा राहत टोली तयारी अवस्थामा राखिएका छन्।
