प्रधानमन्त्री प्रचण्डविरूद्धको रिट आज सुनुवाइ हुने, रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडाैं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमाथि आज सुनुवाइ हुने भएको छ। प्रचण्डविरूद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हाे ।
हिजो बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण हुन सकेको थिएन। रिटको पेशी आजपनि न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा छ।
द्वन्द्वकालीन घटनाका सम्बन्धमा दाहालको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।
रिट सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा बिहीबार पेसी तोकिएको थियो। तर हेर्न नभ्याइने भन्दै आज (शुक्रबार) का लागि सारिएको हो।
द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै मंगलबार आरण र गिरीले प्रचण्डविरूद्ध छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले २०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा माओवादी सशस्त्र द्वन्द्वका क्रममा मारिएका ५ हजारको जिम्मा लिने बताएका थिए।