फिर्ता भएन उम्मेदवारी, उपराष्ट्रपतिमा चारै जनाकाे भिडन्त

काठमाडाैं, २८ फागुन । उपराष्ट्रपतिको निर्वाचनका लागि चारै जना उम्मेदवारको नामावली कायम भएकाे छ ।

चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि चारै जना उम्मेदवारको नामावली कायम भएपछि निर्वाचन अधिकृतको कार्यालयले चार जनाको नामावली सार्वजनिक गरेको हो।

उपराष्ट्रपतिको निर्वाचनको लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ। नेकपा एमालेबाट अष्ट लक्ष्मी शाक्य, जनता समाजवादी पार्टी (जसपा)बाट प्रमिला कुमारी यादव, रामसहाय प्रसाद यादव र जनमत पार्टीकी ममता झाको नाम सार्वजनिक भएको हो।

राष्ट्रपति खस-आर्य समुदायका पुरूष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला हुनुपर्ने भन्ने विवाद आएपछि जसपाले दुई जनाको उम्मेदवारी दिएको थियो तर एकजनाले पनि फिर्ता लिइएन ।

यता सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार उठाएको छ। रामसहाय प्रसाद यादवको उम्मेदवारी परेपछि अष्टलक्ष्मी र ममताले उनीविरूद्ध उजुरी दिएका थिए।

निर्वाचन अधिकृतको कार्यालयले संविधानको व्यवस्थाअनुसार उनको उम्मेदवारी खारेज गर्नुनपर्ने भन्दै उम्मेदवारी कायम नै राखेको छ।

शाक्य आदिवासी-जनजाति समुदायकी हुन् भने अन्य तीन जना मधेशी समुदायका हुन् । जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार फिर्ता नगर्ने जनाइसकेको छ।