समाजसेवीद्वय दवाडीद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण

लमजुङ, २ चैत्र । समाजसेवीद्वय दवाडीद्वारा निर्मित विद्यालय भवन बागीश्वरी माध्यामिक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित आफ्ना बुबाआमाको स्मृतिमा आफ्नो निजी खर्च रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएकाे हाे ।
विसं २००६ मा भाषा पाठशालाका रुपमा स्थापना भएको सो विद्यालयले विसं २०३४ मा माध्यामिक विद्यालयको स्वीकृति पाएको थियो । हाल कक्षा १२ सम्म सञ्चालन रहेको यस विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन् ।
भवन हस्तान्तरण समारोहमा प्रदेशसभा सदस्य डा टकराज गुरुङले विद्यालयको शैक्षिकस्तर अभिवृद्धि एवं गाउँमा सडक स्तरोन्नति र केन्द्रीय प्रसारण लाइन विस्तारलगायतका विकास निर्माणमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद दवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले गाउँको शैक्षिक विकासमा योगदान दिएका बुवाको स्मरणमा विद्यालय भवन निर्माण गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि यस किसिमको सहयोग गर्दै जाने बताए ।
विद्यालयका प्रधानाध्यापक हरिनारायण दवाडीले विद्यालय स्थापनादेखि मावि सञ्चालन गर्नका लागि आवश्यक जग्गा उपलब्ध गराउने र स्वीकृति दिलाउन तत्कालीन प्रधानपञ्च एवं समाजसेवी चूडामणि दवाडीले सक्रिय नेतृत्व लिनुभएको स्मरण गरे । सो अवसरमा राष्ट्रियस्तरका कलाकारद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
यसअघि सोही विद्यालयका शिक्षक स्व चेतोनाथ अधिकारीको स्मृतिमा उनका परिवारले रु छ लाखको लगानीमा विद्यालय हाताभित्र सरस्वतीको मन्दिर पनि निर्माण गरेको छ ।