वायु गुणस्तर व्यवस्थापनदेखि जलवायु परिवर्तन कार्य सप्ताहसम्म : स्वच्छ र उत्थानशील सहर बनाउने कार्यवाहक प्रमुख डंगोलका कार्यक्रम

काठमाडौँ, मङ्सिर ५  ।  काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा सहरलाई स्वच्छ, स्वस्थ र जलवायु परिवर्तनका असर सामना गर्न सक्षम बनाउने उद्देश्यले वायु गुणस्तर व्यवस्थापनदेखि साताव्यापी जलवायु परिवर्तन कार्य सप्ताहसम्मका कार्यक्रम अघि बढाइएका छन् । सडकको धुलो र सवारीसाधनको धुवाँ नियन्त्रण, फोहर व्यवस्थापन, स्वच्छ ऊर्जाको प्रयोग तथा हरियाली विस्तारलाई समेटेर वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरिएको महानगरले आगामी मङ्सिर ७ देखि १३ गतेसम्म ‘काठमाडौँ क्लाइमेट एक्सन विक २०२६’ आयोजना गर्ने तयारी गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले तयार पारेको ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ मा १० वटा मुख्य उद्देश्य, २७ वटा रणनीतिक क्षेत्र र ९८ वटा क्रियाकलाप प्रस्ताव गरिएका छन् । कार्ययोजनाले सडकको धुलो, सवारीसाधनको उत्सर्जन, खुला रूपमा फोहर जलाउने प्रवृत्ति, औद्योगिक प्रदूषण र घरभित्रको वायु प्रदूषण नियन्त्रणसँगै नागरिकको स्वास्थ्य सुरक्षा तथा हरित पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ । मस्यौदामाथि मङ्सिर ५ गते साझेदार निकायसँग परामर्श गरिएको थियो ।

कार्ययोजनामा वायु प्रदूषण नियन्त्रणका लागि नीतिगत, कानुनी, संस्थागत र आर्थिक व्यवस्था सुदृढ गर्ने, फोहरमैला व्यवस्थापन सुधार्ने, यातायात तथा निर्माण क्षेत्रबाट हुने प्रदूषण घटाउने र उद्योगबाट निस्कने उत्सर्जनको नियमित अनुगमन गर्ने प्रस्ताव छ । निर्माणस्थल घेराबन्दी गर्ने, निर्माण सामग्री छोप्ने, पानी छर्कने, सवारीसाधनका पाङ्ग्रा सफा गरेर मात्र सडकमा निकाल्ने तथा कालो धुवाँ फाल्ने सवारीसाधनलाई नियमन गर्ने कार्यक्रम पनि समेटिएका छन् ।

सहरमा हरियाली विस्तारका लागि सडक तथा नदी किनार, सार्वजनिक खुला क्षेत्र र पार्कमा उपयुक्त प्रजातिका बिरुवा रोप्ने, संरक्षण गर्ने, नयाँ पार्क तथा पकेट पार्क निर्माण गर्ने र हरित क्षेत्रको नक्साङ्कन गर्ने योजना छ । विद्युतीय चुलो तथा स्वच्छ खाना पकाउने प्रविधिको प्रयोग बढाउने, घरभित्र हावा आवतजावत हुने व्यवस्था सुधार्ने र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई वायु प्रदूषणबाट जोगिने उपायबारे जानकारी दिने कार्यक्रमसमेत प्रस्ताव गरिएको छ । वायु गुणस्तर सूचकाङ्क ३०० नाघेमा आपत्कालीन अवस्थाका रूपमा लिएर पूर्वनिर्धारित कार्यविधिअनुसार प्रतिकार्य गर्ने व्यवस्था पनि मस्यौदामा छ ।

यसैगरी, महानगरपालिकाले जलवायु परिवर्तनका चुनौतीबारे नीति संवाद, नागरिक सहभागिता र व्यावहारिक कार्यक्रम सञ्चालन गर्न नोभेम्बर २३ देखि २९ सम्म साताव्यापी ‘काठमाडौँ क्लाइमेट एक्सन विक २०२६’ आयोजना गर्ने तयारी गरेको छ । सात दिनका कार्यक्रमलाई नगर नेतृत्व, जलवायु वित्त, नागरिक विज्ञान तथा सम्पदा, ऊर्जा प्रणाली, बालबालिका तथा युवा, खाद्य प्रणाली र नागरिक संस्थासँग सम्बन्धित विषयमा विभाजन गरिएको छ । सप्ताहको पहिलो दिन काठमाडौँ उपत्यकाका नगरप्रमुखहरूको सामूहिक मञ्चमार्फत सहरी उत्थानशीलताका साझा प्राथमिकता तय गर्ने र जलवायु परिवर्तनसम्बन्धी महानगर प्रमुखको घोषणापत्र जारी गर्ने प्रस्ताव छ ।

कार्य सप्ताहमा जलवायु अनुकूल पूर्वाधारका लागि वित्तीय स्रोत जुटाउने, परम्परागत हिति प्रणालीको पुनर्जीवन, नागरिक विज्ञान, स्वच्छ ऊर्जा र एकीकृत फोहर व्यवस्थापनका विषयमा छलफल तथा अनुभव आदानप्रदान गरिनेछ । टेुकु बायोग्यास प्लान्टको उद्घाटन, विद्युतीय सवारी तथा स्वच्छ यातायात प्रवर्द्धन, ‘रिचार्ज काठमाडौँ’ अभियान र वायु गुणस्तर व्यवस्थापन योजनासँग सम्बन्धित पहललाई पनि सप्ताहका कार्यक्रमसँग जोडिएको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणमा स्थानीय तहबीच सहकार्य र लगानीका सम्भावना खोज्ने विषयलाई समेत प्राथमिकता दिइएको छ ।

बालबालिका तथा युवाको सहभागितामा ५० भन्दा बढी विद्यालयमा फोहर वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायु खेल, वृक्षरोपण योजना र वातावरण संरक्षणसम्बन्धी सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने तयारी छ । विद्यार्थीका नवीनतम सोच तथा प्रविधि प्रदर्शनी, जलवायु कार्यसम्बन्धी भिडियो प्रतियोगिता र ह्याकाथनका गतिविधि पनि कार्यक्रममा समेटिएका छन् । खाद्य प्रणालीसम्बन्धी दिनमा राष्ट्रिय जीन बैंक, खुमलटारलगायतका स्थानमा बीउ संरक्षण, स्थानीय बाली र जलवायु अनुकूल कृषि प्रणालीबारे स्थलगत सिकाइ तथा किसानसँग संवाद गरिनेछ ।

कार्य सप्ताहको अन्तिम दिन नागरिक समाज, गैरसरकारी तथा अन्तरसरकारी संस्थाका प्रतिनिधि, युवा र उपत्यकाका नगरप्रमुखको सहभागितामा बालबालिका तथा युवा जलवायु वक्तव्य र संयुक्त प्रतिबद्धता सार्वजनिक गर्ने प्रस्ताव छ । सप्ताहबाट प्राप्त सुझाव र प्रतिबद्धतालाई समेटेर ‘काठमाडौँ क्लाइमेट एक्सन एजेन्डा २०२६’ तयार गर्ने लक्ष्य राखिएको छ । यसले जलवायु परिवर्तनका चुनौती सामना गर्न महानगरपालिका, उपत्यकाका स्थानीय तह, सरकारी निकाय, शैक्षिक संस्था, निजी क्षेत्र र समुदायबीच सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

वायु गुणस्तर व्यवस्थापन कार्ययोजनाको समग्र समन्वय वातावरण व्यवस्थापन विभागले गर्नेछ भने विषयगत कामका लागि महानगरका विभिन्न विभाग र ३२ वटै वडा कार्यालयलाई जिम्मेवारी प्रस्ताव गरिएको छ । कार्ययोजनाअनुसार छ महिनाभित्र वायु गुणस्तर व्यवस्थापन कार्यसमिति गठन गर्ने, तीन वर्षभित्र सात स्थानमा फोहर पुनःप्राप्ति केन्द्र स्थापना गर्ने तथा पाँच वर्षभित्र नयाँ पार्क र पकेट पार्क विकास गर्ने लक्ष्य छ । दुवै कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि महानगरपालिकाका निकायसँगै निर्माण व्यवसायी, उद्योगी, यातायात व्यवसायी, विद्यालय, घरधनी र सर्वसाधारणको सहभागिता आवश्यक देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *